एजेन्सी । जापानले आफ्नो भूभागका रूपमा दाबी गर्दै आएको विवादित कुरिल टापुमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पहिलोपटक भ्रमण गरेका छन् । पुटिनको यो भ्रमणले लामो समयदेखि क्षेत्रीय विवादका कारण तनावपूर्ण रहँदै आएको रूस-जापान सम्बन्धमा थप चिसोपन आउन सक्ने संकेत गरेको छ ।
सरकारी सञ्चारमाध्यम तासका अनुसार पुटिनले पहिलोपटक व्यक्तिगत रूपमा कुरिल टापुहरूको भ्रमण गरेका हुन् । भ्रमणका क्रममा उनले रूसको प्रशान्त महासागरस्थित नौसैनिक बेडाको प्रमुख युद्धपोतको निरीक्षण गरेका थिए ।
जापानमा ‘उत्तरी क्षेत्र’ भनेर चिनिने यी विवादित टापु सन् १९४५ मा तत्कालीन सोभियत संघले कब्जा गरेपछि रूसको नियन्त्रणमा छन् । दोस्रो विश्वयुद्धको अन्तिम चरणमा सोभियत सेनाले कब्जा गरेको यस भूभागलाई लिएर मस्को र टोकियोबीच दशकौँदेखि विवाद रहँदै आएको छ ।
सन् २०२२ मा रूसले युक्रेनमा पूर्णस्तरीय युद्ध सुरु गरेपछि दुई देशबीचको सम्बन्ध थप बिग्रिएको छ । जापानले युक्रेनमाथिको रुसी आक्रमणको विरोध गर्दै मस्कोमाथि पश्चिमी मुलुकसँग मिलेर विभिन्न प्रतिबन्ध लगाएपछि द्विपक्षीय सम्बन्ध अझ तनावपूर्ण बनेको हो ।
होक्काइडोको उत्तरमा रणनीतिक रूपमा अवस्थित यी ज्वालामुखीय टापुहरूमा सोभियत संघले दोस्रो विश्वयुद्धपछि सैन्य उपस्थिति कायम राखेको थियो । सन् २०१० मा तत्कालीन रुसी राष्ट्रपति दिमित्री मेदभेदेभ विवादित टापुहरूको भ्रमण गर्ने पहिलो रुसी राष्ट्रपति बनेका थिए । उनले सन् २०१९ मा प्रधानमन्त्रीका रूपमा समेत त्यहाँ भ्रमण गरेका थिए ।
विवादित चार टापु ज्वालामुखीय कुरिल द्वीपसमूहको हिस्सा हुन् । यो द्वीपसमूह रूसको कामचटका प्रायद्वीपदेखि जापानको उत्तरी मुख्य टापु होक्काइडोसम्म लामो चापका रूपमा फैलिएको छ । रूसले कुनासिर, हबोमाई, शिकोटान र इटुरुप नाम प्रयोग गर्ने यी टापुलाई जापानले क्रमशः कुनासिरी, हबोमाई, शिकोटान र एटोरोफु भन्ने गरेको छ ।
यी टापुमा करिब २० हजार रुसी नागरिक बसोबास गर्छन् । कठोर जलवायुका बाबजुद क्षेत्र प्राकृतिक स्रोतका दृष्टिले महत्त्वपूर्ण मानिन्छ । यहाँ सुन र चाँदीलगायत खनिजको भण्डार रहेको छ भने वरपरका समुद्री क्षेत्रमा प्रशस्त माछा पाइने भएकाले माछा मार्ने गतिविधि पनि महत्त्वपूर्ण छ ।
सन् १९४५ मा टापु कब्जा गरेपछि मस्कोले त्यहाँ रहेका करिब १७ हजार जापानी नागरिकलाई विस्थापित गरेको थियो । त्यसपछि यी टापुको रणनीतिक महत्त्व झनै बढ्यो । शीतयुद्धका क्रममा सोभियत संघले यहाँका सैन्य तथा हवाई आधारलाई संयुक्त राज्य अमेरिका र उसको प्रमुख प्रशान्त सहयोगी जापानमाथि निगरानी तथा प्रतिरोधका लागि प्रयोग गरेको थियो ।
रूस र जापानबीच यस विवादको समाधानका लागि विगतमा पटकपटक वार्ता भएका छन् । केही अवसरमा वार्ताले उल्लेखनीय प्रगति गर्ने संकेत देखिए पनि स्थायी समाधान भने हुन सकेको छैन ।
सन् १९५६ मा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना हुँदा तत्कालीन सोभियत नेता निकिता ख्रुस्चेभले शान्ति सन्धि भएपछि विवादित दुई टापु जापानलाई फिर्ता गर्न सकिने प्रस्ताव गरेका थिए । तर उक्त प्रस्तावले पनि सम्पूर्ण क्षेत्रीय विवाद समाधान गर्न सकेन ।
सन् १९९१ मा सोभियत संघ विघटन भएपछि रूस र जापानबीच वार्ता पुनः सुरु भए पनि चार दशकभन्दा लामो विवाद अन्त्य गर्ने गरी ठोस सहमति हुन सकेको छैन । युक्रेन युद्धपछि सम्बन्ध थप तनावपूर्ण बनेको अवस्थामा पुटिनको कुरिल भ्रमणले यो विवाद फेरि दुई देशबीचको सम्बन्धको केन्द्रमा ल्याएको छ ।