
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानबाट हत्याको धम्की आएपछि गत महिना टर्कीबाट गोप्य रूपमा सानो विमानमार्फत बेलायत गएको खुलासा भएको छ ।
डोनाल्ड ट्रम्प टर्कीको राजधानी अङ्काराबाट ठूलो एयर फोर्स वन विमानमा सवार भएको देखिए पनि उनलाई बीच बाटोमा सानो सी-३२ए विमानमा सारेर बेलायत पुर्याइएको द वासिङ्टन पोस्टले जनाएको छ ।
पोस्टसँग कुरा गरेका एक अमेरिकी अधिकारीका अनुसार जुलाई ८ मा राष्ट्रपति ट्रम्प अङ्काराबाट एयर फोर्स वनमा चढेका थिए । त्यसपछि उनलाई विमानमा खानपानका सामग्री राख्ने कन्टेनर प्रयोग गरी अर्को सानो विमानसम्म पुर्याइएको थियो । सीऔ३२ए विमानले उनलाई बेलायत लगेको थियो ।
यस क्रममा सञ्चारमाध्यमका प्रतिनिधि र केही अधिकारीलाई ट्रम्प अझै ठूलो एयर फोर्स वनमै रहेको विश्वास दिलाइएको थियो । ठूलो विमानमा रहेका पत्रकारलाई झ्यालका पर्दा बन्द गर्नसमेत भनिएको थियो । सुरक्षा संवेदनशीलताका कारण अपनाइएको यो उपायले राष्ट्रपतिको सुरक्षामाथि रहेको गम्भीर जोखिमलाई संकेत गरेको बताइएको छ ।
यसअघि पनि अमेरिकी सञ्चारमाध्यमले इरानी समर्थित समूहबाट हुन सक्ने आक्रमणको जोखिमका कारण ट्रम्पले टर्कीबाट बेलायत जाँदा कतारले उपहार दिएको नयाँ बोइङ ७४७-८ विमान प्रयोग नगरेको जनाएका थिए ।
नाटो शिखर सम्मेलनमा सहभागी हुन अङ्कारा पुगेका ट्रम्पले बेलायतस्थित अमेरिकी सेनाका सदस्यलाई नयाँ विमान देखाउन सक्ने गरी पुरानो एयर फोर्स वन प्रयोग गर्ने बताएका थिए । तर सुरक्षा जोखिमका कारण अन्तिम समयमा विमान परिवर्तन गरिएको बताइएको थियो ।
कतारको शाही परिवारले गत वर्ष ट्रम्पको अनुरोधपछि अमेरिकालाई विलासी बोइङ ७४७-८ विमान उपहार दिएको थियो । सन् १९९० देखि प्रयोग हुँदै आएका पुराना एयर फोर्स वन विमानको अवस्थाप्रति ट्रम्पले असन्तुष्टि जनाउँदै आएका थिए ।
उपहारमा प्राप्त विमानलाई राष्ट्रपतिको प्रयोगका लागि तीव्र रूपमा पुनर्संरचना गरिएको थियो । जुलाई १ मा ट्रम्पले पहिलोपटक उक्त विमानबाट नर्थ डकोटा यात्रा गरेका थिए भने त्यसको केही दिनपछि टर्की भ्रमणमा पनि सोही विमान प्रयोग गरेका थिए ।
तर सुरक्षा जोखिमका कारण टर्कीबाट बेलायत जाने क्रममा भने नयाँ विमान प्रयोग नगरी पुरानो एयर फोर्स वनबाट सी-३२ए विमानमा स्थानान्तरण गरिएको बताइएको छ ।
पोस्टले सार्वजनिक गरेको भिडियोमा ट्रम्प ठूलो एयर फोर्स वनमा सिँढी चढेर गएको केही मिनेटपछि खानपानका सामग्री बोक्ने एउटा ट्रक विमानबाट बाहिरिएको देखिन्छ । उक्त ट्रकलाई पछि सी-३२ए विमानतर्फ लगिएको थियो ।
दुवै विमान बेलायत पुगेपछि ट्रम्प ठूलो एयर फोर्स वनबाट ओर्लिएको भिडियोमा देखिन्छ । त्यसपछि उहाँ नयाँ रूपमा पुनर्संरचना गरिएको एयर फोर्स वनमा पुगेको देखाइएको छ । यद्यपि उनलाई सानो विमानबाट ठूलो विमानमा कसरी सारिएको थियो भन्ने विषय भने अझै स्पष्ट नभएको पोस्टले जनाएको छ ।
रिपोर्ट सार्वजनिक भएपछि ह्वाइट हाउसले नयाँ एयर फोर्स वनको सुरक्षा क्षमताको बचाउ गरेको छ । ह्वाइट हाउसका सञ्चार निर्देशक स्टीभन चेउङले विमान अत्याधुनिक रहेको र राष्ट्रपति तथा उनका कर्मचारीको सुरक्षाका लागि उच्चस्तरीय सुरक्षा प्रोटोकल लागू गरिएको बताएका छन् ।
उनका अनुसार ट्रम्पले हालै अमेरिकाका धेरै शत्रु रहेको र तीमध्ये धेरैको निशाना आफू रहेको बताएका छन् । यस्तो सुरक्षा चुनौती सामना गर्न सरकारले उपलब्ध सबै साधन प्रयोग गरिरहेको ह्वाइट हाउसको भनाइ छ ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal