भक्तपुर । नापजाँच सम्पन्न भएको करिब चार वर्षपछि भक्तपुरको मध्यपुरथिमि नगरपालिका-८ का ४२१ परिवारले जग्गाधनी पुर्जा प्राप्त गरेका छन्।
भूमि समस्या समाधान समितिले साविक निलबाराही गाउँ विकास समिति-२, ३, ४, ५, ६ र ७ अन्तर्गत पर्ने गाउँ ब्लक (स्ववासी) जग्गाका ४२१ परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको हो।
उक्त क्षेत्रको जग्गा नापजाँच आर्थिक वर्ष २०७८/७९ मै सम्पन्न भएको थियो। पुरानो नेवारी बस्तीका रूपमा रहेको यस क्षेत्रलाई स्थानीयस्तरमा ‘बोदे गाउँ’का नामले चिनिन्छ।
नापजाँच सम्पन्न भए पनि जग्गा दर्ताका लागि आवश्यक जनसहभागिता न्यून हुँदा लामो समयसम्म पुर्जा वितरण प्रक्रिया अघि बढ्न सकेको थिएन। आयोगबाट नापनक्सा भइसकेका जग्गाको आवश्यक प्रक्रिया पूरा गरी अहिले ४२१ थान जग्गाधनी पुर्जा वितरण गरिएको समितिले जनाएको छ।
जग्गाधनी पुर्जा प्राप्त गरेसँगै लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका ४२१ परिवारले आफ्नो जग्गामाथि कानुनी स्वामित्व प्राप्त गरेका छन्। यससँगै वर्षौँदेखि कायम रहेको जग्गा स्वामित्वसम्बन्धी समस्या समाधान भएको छ।