• Menu

सिन्धुपाल्चोकमा टिपर पल्टिँदा २९ वर्षीय राजु लामाको मृत्यु, चालक प्रहरी नियन्त्रणमा

नेपाल प्रफिट

२०८३ साउन २८, बिहीबार ११:३६

सिन्धुपाल्चोकमा टिपर पल्टिँदा २९ वर्षीय राजु लामाको मृत्यु, चालक प्रहरी नियन्त्रणमा

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-८ मानेश्वरस्थित भित्री सडकखण्डमा ढुंगा बोकेको टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार बुधबार अपराह्न मानेश्वरबाट बाह्रबिसेतर्फ आउँदै गरेको बा ५ ख ४११० नम्बरको ढुंगा लोड टिपर अनियन्त्रित भई पल्टिँदा टिपरमा सवार बाह्रबिसे नगरपालिका-८ का २९ वर्षीय राजु लामा गम्भीर घाइते भएका थिए । दुर्घटनाका क्रममा उनी सडक छेउतर्फ हाम फालेपछि सोही स्थानमा टिपर पल्टिँदा च्यापिएका थिए ।

घटनालगत्तै इलाका प्रहरी कार्यालय बाह्रबिसेबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले लामाको उद्धार गरी उपचारका लागि नगर अस्पताल बाह्रबिसे पठाएको थियो । उपचारकै क्रममा साँझ  चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

टिपर काभ्रेको पाँचखाल नगरपालिका-१३ का २५ वर्षीय अनिस पाण्डेले चलाएका थिए । प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणपछि मृतकका बुवा हिराबहादुर तामाङलाई जिम्मा लगाएको छ । दुर्घटनामा संलग्न टिपर चालक पाण्डेलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान भइरहेको छ ।