• Menu

सरकार जवाफदेही नभए पुनः आन्दोलन हुने रामबहादुर थापाको चेतावनी

नेपाल प्रफिट

२०८३ भदौ ३, बुधबार १७:०३

सरकार जवाफदेही नभए पुनः आन्दोलन हुने रामबहादुर थापाको चेतावनी

काठमाडौं । नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापाले लोकतन्त्रका लागि भएका बलिदानीपूर्ण इतिहासलाई सम्झिएर काम गर्न सरकारलाई आग्रह गरेका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा समय लिएर बोल्दै नेता थापाले लोकतन्त्र र जनजीविकाका सवालमा कुनै पनि प्रकारको प्रश्न उठ्ने अवस्था आउन नहुने बताए।

भूराजनीतिक चलखेलका कारण नेपालको राष्ट्रियता र राज्यका विभिन्न अङ्गमा खतरा उत्पन्न हुन सक्ने भन्दै उनले त्यस्ता चुनौतीबाट मुलुकलाई जोगाउन सरकार गम्भीर बन्नुपर्नेमा जोड दिए।

सरकारले ट्रेड युनियन तथा विद्यार्थी संगठन खारेज गरेर लोकतान्त्रिक अधिकार कटौती गरेको आरोप लगाउँदै नेता थापाले समाजमा महँगी, चोरी, डकैती तथा अराजकता बढिरहेको बताए। उनले सुकुमवासीको व्यवस्थापन गर्न नसकेको भन्दै सरकारको आलोचना गरे।

सरकार संसद्प्रति जवाफदेही नभए तथा सत्ता पक्ष र प्रतिपक्षबीच सार्थक संवाद हुन नसके पुनः आन्दोलनको अवस्था आउन सक्ने चेतावनीसमेत उनले दिए।

नेता थापाको अभिव्यक्तिप्रति राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बास्कोटाले नियमापत्ति जनाएकी छन्।