• Menu

साउनमा ५ महिनायताकै सबैभन्दा बढी ४० लाख सिलिन्डर ग्यास आयात

नेपाल प्रफिट

२०८३ भदौ ३, बुधबार १७:०७

साउनमा ५ महिनायताकै सबैभन्दा बढी ४० लाख सिलिन्डर ग्यास आयात

काठमाडौं । देशका विभिन्न स्थानमा एलपी ग्यासको अभाव देखिएको भन्दै उपभोक्तामा चिन्ता बढिरहेका बेला नेपाल आयल निगमले पछिल्लो पाँच महिनाको आयात तथा बिक्री-वितरणको तथ्यांक सार्वजनिक गर्दै ग्यासको आपूर्ति नियमित रहेको जनाएको छ।

निगमले बुधबार जारी गरेको विज्ञप्तिमा १४.२ किलोका एलपी ग्यास सिलिन्डरको बिक्री-वितरण नियमित रहेको स्पष्ट पारेको छ। सार्वजनिक तथ्यांक अनुसार पछिल्लो समय ग्यासको आयात तथा बजारमा बिक्री-वितरण झन् बढेको देखिएको छ।

निगमका अनुसार २०८२ चैतमा ३५ हजार ७९९.४५ मेट्रिक टन एलपी ग्यास आयात भएको थियो। उक्त महिनामा करिब २७ लाख ३२ हजार ३५५ सिलिन्डर बजारमा बिक्री-वितरण भएको थियो।

त्यस्तै, २०८३ वैशाखमा ३२ हजार ५६.४४ मेट्रिक टन, जेठमा ३२ हजार ५४२.२९ मेट्रिक टन, असारमा ४४ हजार ४४४.४० मेट्रिक टन र साउनमा ५० हजार ३९६.३५ मेट्रिक टन एलपी ग्यास आयात भएको निगमले जनाएको छ।

पछिल्लो ५ महिनामध्ये साउनमा ग्यासको आयात सबैभन्दा उच्च रहेको छ। साउनमा मात्रै ५० हजार मेट्रिक टनभन्दा बढी एलपी ग्यास आयात भएको निगमको तथ्यांकमा उल्लेख छ।

निगमका अनुसार साउनमा ४० लाखभन्दा बढी ग्यास सिलिन्डर बजारमा बिक्री-वितरण भएका छन्। अघिल्लो महिनाको तुलनामा साउनमा करिब ९ लाख सिलिन्डर बढी बिक्री-वितरण भएको निगमले जनाएको छ।

निगमले आगामी दिनमा पनि एलपी ग्यासको आयात तथा बिक्री-वितरण नियमित रहने स्पष्ट पारेको छ। उपभोक्तालाई आवश्यकताअनुसार मात्रै ग्यास खरिद गर्न र अनावश्यक रूपमा भण्डारण नगर्न आग्रह गरेको छ।

ग्यासको आपूर्ति नियमित भइरहेका बेला अभाव हुने आशंकामा उपभोक्ताले आवश्यकताभन्दा बढी ग्यास भण्डारण गर्दा बजारमा कृत्रिम अभाव सिर्जना हुन सक्ने निगमको भनाइ छ। त्यसैले उपलब्ध तथ्यांकलाई आधार बनाएर संयमित हुन र आवश्यकताअनुसार मात्रै ग्यास खरिद गर्न निगमले आग्रह गरेको हो ।

निगमको पछिल्लो तथ्यांकले बजारमा ग्यासको आपूर्ति घटेको नभई पछिल्लो महिनामा आयात तथा बिक्री-वितरणको मात्रा उल्लेख्य रूपमा बढेको देखाएको छ ।