काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को २०८३ भदौ ३ गते बसेको बैठकले विभिन्न १० वटा महत्वपूर्ण निर्णय गरेको छ ।
बैठकले सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन आदेश, २०८३ स्वीकृत गरेको छ । त्यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई यातायात नियन्त्रण सुधारसम्बन्धी परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने करिब २ अर्ब ७३ करोड रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
भदौ ४ र ५ गते भारतमा आयोजना हुने सीमा व्यवस्थापनसम्बन्धी १४औँ बैठकमा सहभागी हुन गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल पठाउन स्वीकृति प्रदान गरिएको छ ।
यसैगरी, एसियाली विपद् पूर्वतयारी केन्द्रको उपकेन्द्र नेपालमा स्थापना गर्न स्वीकृति दिइएको छ ।
संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा आयोजना हुने संयुक्त राष्ट्र संघको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्रीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल पठाउन पनि बैठकले स्वीकृति दिएको छ ।
मन्त्रिपरिषद्ले प्रारम्भिक बालविकास सहजकर्ता, विद्यालय कर्मचारी तथा विद्यालय सहयोगीका लागि संघीय सरकारले उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा मासिक ५ हजार रुपैयाँ वृद्धि गर्ने निर्णय गरेको छ। साथै, माध्यमिक तह कक्षा ९-१० र आधारभूत तह कक्षा ६-८ मा शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकको पारिश्रमिक क्रमशः माध्यमिक तृतीय श्रेणी र निम्न माध्यमिक तृतीय श्रेणीको सुरु तलब बराबर कायम गर्ने निर्णय गरिएको छ ।
त्यस्तै, नेपाल सरकार र साउदी अरेबियाबीच द्विपक्षीय हवाई सेवा सम्झौता गर्न स्वीकृति प्रदान गरिएको छ।
बैठकले भुक्तानी तथा फस्र्योट ऐन, २०७५ संशोधन गर्न बनेको विधेयक र नागरिक लगानी कोष ऐन, २०४७ संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति दिएको छ ।
यसैगरी, सहसचिव कमलप्रसाद भट्टराईलाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बागमती प्रदेशको प्रमुख सचिव पदमा पदस्थापन गर्ने निर्णय गरिएको छ ।