• Menu

काँकडभिट्टा नाकाबाट एकै वर्षमा १४ करोडभन्दा बढीको जडीबुटी निर्यात, बंगलादेशतर्फ माग बढ्दै

नेपाल प्रफिट

२०८३ भदौ ३, बुधबार १८:४२

काँकडभिट्टा नाकाबाट एकै वर्षमा १४ करोडभन्दा बढीको जडीबुटी निर्यात, बंगलादेशतर्फ माग बढ्दै

झापा  । पूर्वी नाका काँकडभिट्टाबाट एक वर्षमा १४ करोड ६ लाख ८३ हजार रुपैयाँ बराबरको जडीबुटी निर्यात भएको छ।

काँकडभिट्टाबाट भारत र बंगलादेशतर्फ १२ प्रकारका कुल १ हजार १०८ मेट्रिक टन जडीबुटी निर्यात भएको हो।

पूर्वी भन्सार नाका काँकडभिट्टाका प्रमुख नन्दकिशोर सिंहका अनुसार भारततर्फ ४२२ मेट्रिक टन तेजपात निर्यातबाट २ करोड ६६ लाख ६४ हजार रुपैयाँ आम्दानी भएको छ। त्यस्तै, बंगलादेशतर्फ २६९ मेट्रिक टन चिराइतो निर्यात गरी ६ करोड ५६ लाख ३५ हजार रुपैयाँ आम्दानी भएको छ।

नेपाली जडीबुटीको परम्परागत बजार भारत भए पनि पछिल्लो समय बङ्गलादेशतर्फ जडीबुटीको निर्यात बढ्दै गएको छ। बंगलादेशतर्फ रिठ्ठा, क्यानोला तेल, सतावर, मजिठो र जटामसीलगायत जडीबुटीको माग बढेको बताइएको छ।

यस अवधिमा बंगलादेशतर्फ १८७ मेट्रिक टन रिठ्ठा निर्यातबाट २ करोड ३ लाख ८६ हजार रुपैयाँ, ४० मेट्रिक टन क्यानोला तेलबाट १ करोड २८ लाख ३६ हजार रुपैयाँ र पाँच मेट्रिक टन सतावरबाट ९४ लाख ५६ हजार रुपैयाँ आम्दानी भएको छ।

कम परिमाणमा निर्यात भए पनि हिमाली तथा पहाडी क्षेत्रमा पाइने पदमचाल र जटामसीले राम्रो बजार मूल्य पाएका छन्। १२ मेट्रिक टन पदमचालबाट ९४ लाख ८८ हजार रुपैयाँ र पाँच मेट्रिक टन जटामसीबाट ६३ लाख ८० हजार रुपैयाँ आम्दानी भएको छ।

यसैगरी २६ मेट्रिक टन चुत्रोबाट ११ लाख ४१ हजार रुपैयाँ, २२ मेट्रिक टन नागबेली पाउडरबाट १० लाख १८ हजार रुपैयाँ, आठ मेट्रिक टन अमलाबाट ८ लाख ६७ हजार रुपैयाँ र दुई मेट्रिक टन टिमुरबाट ८ लाख रुपैयाँ आम्दानी भएको प्लान्ट क्वारेन्टाइन कार्यालय काँकडभिट्टाले जनाएको छ ।

नेपालमा उत्पादित जडीबुटीको प्रशोधन, मूल्य अभिवृद्धि र बजार विस्तारमा सरकारी तवरबाट थप सहजीकरण हुन सके पूर्वी नाकाबाट जडीबुटीको निर्यात अझ बढाउन सकिने सरोकारवालाहरूले बताएका छन् ।