
काठमाडौं । एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ मा खुद नाफा र ब्याज आम्दानीमा राम्रो सुधार गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार नाफा वृद्धिसँगै प्रतिसेयर आम्दानीमा सुधार आए पनि निष्क्रिय कर्जा बढेको छ र वितरणयोग्य नाफामा पनि गिरावट आएको छ जसले बैंकको वित्तीय स्वास्थ्यमा मिश्रित संकेत देखाएको छ ।
बैंकले गतवर्ष ४ अर्ब १ करोड रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ४०.६० प्रतिशत धेरै हो । आर्थिक वर्ष २०८१/८२मा बैंकको नाफा २ अर्ब ८५ करोड रुपैयाँ थियो । नाफामा आएको यो वृद्धिले बैंकको मुख्य आम्दानी स्रोतमा भएको सुधार र सञ्चालन क्षमतामा सकारात्मक परिवर्तन हुँदै गएको संकेत गर्छ ।
बैंकले खुद ब्याज आम्दानीमा पनि उल्लेखनीय सुधार गरेको छ । कुल ९ अर्ब ४२ करोड रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको ८ अर्ब २ करोडको तुलनामा १७.५२ प्रतिशत धेरै हो । यस्तै बैंकले ६ अर्ब ११ करोड रुपैयाँ सञ्चालन मुनाफा गरेको छ ।
नाफा बढे पनि साधारण सेयरधनीका लागि वितरणयोग्य नाफामा भने गतवर्षभन्दा कमी आएको देसखिन्छ । बैंकको वितरणयोग्य नाफा १ अर्ब ७५ करोड रुपैयाँ छ जुन अघिल्लो वर्ष १ अर्ब ९० करोड रुपैयाँ थियो । प्रतिसेयर वितरणयोग्य नाफा पनि १० रुपैयाँ ३५ पैसाबाट घटेर ९ रुपैयाँ ८ पैसा कायम भएको छ ।
निष्क्रिय कर्जामा दबाब
बैंकको निष्क्रिय कर्जा ४.११ प्रतिशतबाट बढेर ४.९१ प्रतिशत पुगेको छ । कर्जा विस्तारसँगै खराब कर्जा बढ्नु बैंकका लागि जोखिम व्यवस्थापनको चुनौती देखिन्छ ।
निष्क्रिय कर्जा बढ्दा बैंकले सम्भावित कर्जा नोक्सानीका लागि थप रकम छुट्याउनुपर्ने अवस्था आउँछ । जसले आगामी दिनमा नाफा र वितरणयोग्य मुनाफामा दबाब सिर्जना गर्ने जोखिम रहन्छ । त्यसैले कर्जा असुली, खराब कर्जा व्यवस्थापन र नयाँ कर्जाको गुणस्तरमा बैंकले विशेष ध्यान दिनुपर्ने देखिन्छ ।
प्रतिसेयर आम्दानीमा उल्लेख्य सुधार
बैंकको प्रतिसेयर आम्दानीमा भने राम्रो सुधार भएको छ । प्रतिसेयर आम्दानी १४ रुपैयाँ ८० पैसाबाट बढेर २० रुपैयाँ १८ पैसा पुगेको छ । यसले बैंकको प्रतिफल क्षमतामा सुधार भएको देखाउँछ ।
यसैगरी मूल्य–आम्दानी अनुपात १८.२२ गुणाबाट घटेर ११.८७ गुणामा झरेको छ । यसलाई बैंकको आम्दानी बढेको र सेयर मूल्यको तुलनामा प्रतिसेयर आम्दानीमा सुधार भएको अवस्थासँग जोडेर हेर्न सकिन्छ ।
प्रतिसेयर नेटवर्थ १८१ रुपैयाँ १५ पैसा कायम भएको छ ।
निक्षेप, कर्जा विस्तार र चुक्ता पुँजी
२०८३ असार मसान्तसम्म बैंकले ३ खर्ब १५ अर्ब ११ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ४९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । यसबाट बैंकले संकलन गरेको स्रोतलाई राम्रो परिचालन गरिरहेको देखिन्छ ।
बैंकको चुक्ता पुँजी २२ अर्ब २८ करोड ५० लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १५ अर्ब ७७ कारोड रुपैयाँ रहेको छ । बैंकको कुल सम्पत्ति ३ खर्ब ९७ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal