• Menu

बर्खाको समयमा पनि पर्यटकको घुइँचो, जुलाईमा ७१ हजार ७७५ जना भित्रिए

नेपाल प्रफिट

२०८३ साउन १८, १७:०४

बर्खाको समयमा पनि पर्यटकको घुइँचो, जुलाईमा ७१ हजार ७७५ जना भित्रिए

काठमाडौं । सन् २०२६ को जुलाईमा ७१ हजार ७७५ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार यो संख्या गत वर्ष जुलाईको तुलनामा २.३ प्रतिशत बढी हो । सन् २०२५ जुलाईमा ७० हजार १९३ पर्यटक नेपाल आएका थिए ।

जुलाई बर्खायाम हो । यो महिनामा सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन् । भारतबाट २३ हजार ४९० जना आएका हुन् । यो कुल आगमनको ३२.७३ प्रतिशत हो ।

त्यस्तै चीनबाट आउने पर्यटक उल्लेख्य बढेका छन् । गत वर्ष जुलाईमा ६ हजार ८९० पर्यटकले नेपाल भ्रमण गरेकोमा यो जुलाईमा ११ हजार ९९ पर्यटक आएका छन् । चीनबाट आउने पर्यटकको संख्या ६१.०९ प्रतिशतले बढेको हो ।

चिनियाँ पर्यटक आगमन कोभिडपूर्व अवस्थाभन्दा ८.६५ प्रतिशत माथि पुगेको छ । सन् २०१९ जुलाईमा चीनबाट १० हजार २१५ पर्यटक आएका थिए ।

त्यसैगरी अमेरिकाबाट जुलाईमा ७ हजार ७५४ पर्यटक आएका छन् । बंगलादेशबाट ४ हजार १७९, बेलायत ३ हजार ७७३ र अस्ट्रेलियाबाट २ हजार ४२८ पर्यटक नेपाल आएको बोर्डले जनाएको छ ।

क्षेत्रगत हिसाबले दक्षिण एसियाली मुलुकबाट आउने पर्यटक संख्या सबैभन्दा बढी छ । जुलाईमा सार्क मुलुकबाट २९ हजार ७५५ जना नेपाल आएका छन् । यो संख्या कुल आगमनको ४१.४६ प्रतिशत हो । सार्क राष्ट्रबाट पर्यटक आगमन भने घटेको हो । गत वर्षको जुलाईमा सार्क मुलुकबाट ३३ हजार ७८७ पर्यटक आएका थिए ।

यस्तै भुटानबाट ९९१, पाकिस्तान ४७५, श्रीलंका ५८१ र माल्दिभ्सबाट ३९ पर्यटक नेपाल आएका छन् । दक्षिण एसियाबाहेक अन्य एसियाली मुलुकबाट जुलाईमा १७ हजार ४२४ पर्यटक नेपाल आएका छन् । यो कुल आगमनको २४.२८ प्रतिशत हो । गत वर्ष जुलाईमा १३ हजार ५२ जना आएका थिए ।

त्यस्तै दक्षिण कोरियाबाट १ हजार ३९४, मलेसिया १ हजार ३८०, जापान १ हजार १११, भियतनाम ५७४ तथा सिंगापुर र म्यानमारबाट समान ४३७ जना आएका छन् । थाइल्यान्डबाट ४२८ जना आएको बोर्डले जनाएको छ ।

त्यसैगरी युरोपबाट ९ हजार २७९ पर्यटक नेपाल आएका छन् । कुल आगमनमा युरोपको हिस्सा १२.९३ प्रतिशत छ । युरोपमा बेलायतबाट ३ हजार ७७३, जर्मनीबाट ७२३, स्पेनबाट ६८१, फ्रान्सबाट ६४४, नेदरल्यान्ड्सबाट ५१४, पोर्चुगलबाट ४८९ र रुसबाट ४६७ पर्यटक आएका छन् ।

अमेरिकी देशबाट ८ हजार ८२४ पर्यटक नेपाल आएका छन् । ओसिनियाबाट २ हजार ६७, मध्यपूर्व (खाडी) बाट ७३६ र अफ्रिकी देशबाट ३२४ पर्यटकले जुलाईमा नेपाल भ्रमण गरेका छन् ।