• Menu

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकमा अवितरित लाभांश ३७ करोड, यी हुन् वर्षौंदेखि लाभांश नबुझेका टप ५ सेयरधनी

नेपाल प्रफिट

२०८३ साउन १८, ०८:२१

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकमा अवितरित लाभांश ३७ करोड, यी हुन् वर्षौंदेखि लाभांश नबुझेका टप ५ सेयरधनी

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले वितरण गरेको तर सेयरधनीको हातमा नपरेको पैसा ३७ करोडभन्दा बढी रहेको पाइएको छ । बैंकले वेबसाइटमार्फत सार्वजनिक गरेको तथ्यांकअनुसार ८६ हजार फरक-फरक सेयरधनीले ३७ करोड २० लाख ५२ हजार ९१४ रुपैयाँ ५८ पैसा बुझ्न बाँकी छ ।

२०४२ सालमा नेपाल इन्भेस्टमेन्ट बैंकको रुपमा स्थापित यो वाणिज्य बैंकले आर्थिक वर्ष २०४५-४६ देखि लाभांश घोषणा गरेको तथ्यांकले देखाउँछ । तर, आव २०४५-४६ देखि २०७८/७९ सम्मको अवधिमा ८६ हजार लगानीकर्ताले ३ लाख ६७ हजार ५२० वटा लाभांश लिन बाँकी छ ।

लाभांश वितरण स्थितलाई दुई चरणमा विभाजन गरिएको छ । पहिलो चरणमा आर्थिक वर्ष २०४५/४६ देखि २०७०/७१ सम्म (इलेक्ट्रोनिक सेयर प्रणाली सुरु हुनुअघिको समय) का करिब २६ वटा वार्षिक विवरण छन् । यो चरणमा प्रत्येक वर्षको नबुझिएको लाभांश रकम तुलनात्मक रूपमा कम अर्थात् करिब १ लाखदेखि ६० लाख रुपैयाँसम्म छ ।

दोस्रो चरणमा २०७२/७३ देखि २०७८/७९ सम्म (डिम्याट र बीओआईडी प्रणाली सुरु भएपछि) को एकीकृत विवरण छ, जसमा मात्रै करिब ३ लाख ६२ हजार रेकर्ड छन् भने करिब ३५ करोड १० लाख रुपैयाँबराबर लाभांश सेयरधनीले लिएका छैनन् ।

डिम्याट प्रणाली आएपछि नबुझिएको लाभांश अत्यधिक बढ्नुको मुख्य कारण धेरै सेयरधनीको डिम्याट खाता बैंक खातासँग सही रूपमा लिंक नभएको, बैंक विवरण अद्यावधिक नगरिएको वा पुरानो विवरणकै कारण लाभांश खातामा जम्मा हुन नसकेको अनुमान सेयर विश्लेषकहरुले गरेका छन् ।

सेयर बजार विश्लेषक रविन्द्र भट्टराई सेयरधनीले खाता अद्यावधिक नगरको भए गराएर पैसा हालिदिनुपर्ने बताउँछन् । ‘अब त बैंकहरु धेरै नै चुस्त र प्रविधिमैत्री भइसकेका छन् तर सेयरधनीको पैसा खातामा नराखिदिएर बैंकहरुले बेइमानी गरिरहेका छन्,’ उनले भने ।

यी हुन् लाभांश नलिने टप ५ सेयरधनी

कतिपय सेयरधनीले ठुलो मात्रामा पैसा नबुझेको पाइएको छ । लाभांश थुप्रिएका सबैभन्दा ठुला सेयरधनीमा दुईवटा संस्था र तीन जना व्यक्ति छन् ।

नेपाल जनरल मार्केटिङले तीन आवको ८४ लाख ७० हजार र ज्योति समूहअन्तर्गतको स्याकार ट्रेडिङ कम्पनीले एक आवको २४ लाख ८० हजार लिएको छैन । त्यस्तै व्यक्तितर्फ विजयबहादुर राजभण्डारीले ८ आवको ३३ लाख, श्याममिलन श्रेष्ठले ६ आवको २३ लाख र गोपाल मानन्धरले ६ आवको १६ लाख १० हजार बुझ्न बाँकी छ ।