• Menu

जलविद्युत आयोजना प्रभावित स्थानीयलाई अङ्कित मूल्यमै सेयर उपलब्ध गराउन इप्पानको आग्रह

नेपाल प्रफिट

२०८३ साउन १८, १०:३१

जलविद्युत आयोजना प्रभावित स्थानीयलाई अङ्कित मूल्यमै सेयर उपलब्ध गराउन इप्पानको आग्रह

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले जलविद्युत् आयोजनाबाट प्रत्यक्ष प्रभावित स्थानीय बासिन्दालाई अङ्कित मूल्य अर्थात प्रतिकित्ता १०० रुपैयाँमै सेयर उपलब्ध गराउन प्रवर्द्धक कम्पनीहरूलाई आग्रह गरेको छ ।

इप्पानका अध्यक्ष मोहनकुमार डाँगीले केही आयोजनाको साधारण सेयर निष्कासन प्रक्रियामा भइरहेको ढिलाइका कारण स्थानीयका लागि प्रिमियम मूल्यमा सेयर जारी गर्ने विकल्पबारे छलफल भइरहेकोप्रति संस्थाको ध्यानाकर्षण भएको बताएका हुन् ।

धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ अनुसार आयोजनाबाट प्रभावित स्थानीयलाई १० प्रतिशत सेयर छुट्याउने व्यवस्था छ । इप्पानले सो सेयर अङ्कित मूल्यमै उपलब्ध गराउन सदस्य कम्पनीहरूलाई अनुरोध गरेको हो ।

इप्पानका अनुसार प्रिमियम मूल्यमा सेयर जारी गर्दा स्थानीय समुदायको पहुँच सीमित हुनुका साथै आयोजना र समुदायबीचको विश्वास कमजोर हुन सक्छ । अङ्कित मूल्यमा सेयर दिँदा स्थानीयलाई आयोजनाको वास्तविक साझेदार बनाउँदै स्वामित्वको भावना बढ्ने र सामाजिक विवाद तथा अवरोध न्यूनीकरणमा सहयोग पुग्ने संस्थाको भनाइ छ ।

इप्पानले स्थानीय हित, आयोजनाको दीर्घकालीन स्थायित्व र निजी क्षेत्र–समुदायबीचको सम्बन्धलाई प्राथमिकता दिन सरकार, नियामक निकाय तथा प्रवर्द्धक कम्पनीलाई आग्रह गरेको छ । साथै, सेयर निष्कासन प्रक्रिया सरल, पारदर्शी र समयबद्ध बनाउन पनि माग गरेको छ ।