• Menu

लगातार चार दिनको गिरावटपछि सेयर बजारमा सुधार, १८० कम्पनीको मूल्य बढ्यो

नेपाल प्रफिट

२०८३ साउन १५, शुक्रबार १५:४४

लगातार चार दिनको गिरावटपछि सेयर बजारमा सुधार, १८० कम्पनीको मूल्य बढ्यो

काठमाडौं । लगातार चार कारोबार दिन ओरालो लागेको सेयर बजार साताको अन्तिम कारोबार दिन शुक्रबार बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक  करिब १३ अंकले बढेर २,६८५.०९ अंकमा पुगेको हो ।

यद्यपि, साताभरको कारोबारलाई हेर्दा नेप्से समग्रमा ४९ अंकले घटेको छ । गत शुक्रबार २,७३४ अंकमा रहेको परिसूचक यो साताको लगातारको गिरावटपछि शुक्रबार केही सुधारिएको हो।

शुक्रबार कारोबार रकम पनि बढेको छ। अघिल्लो दिन ३ अर्ब ३८ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा शुक्रबार ३ अर्ब ७५ करोड रुपैयाँको कारोबार भएको छ।

आज १८० कम्पनीको सेयर मूल्य बढ्दा ८२ कम्पनीको घट्यो भने १३ कम्पनीको मूल्य स्थिर रह्यो। अधिकांश समूहगत परिसूचक हरियालीमा रहे। बैंकिङ ०.७२, विकास बैंक ०.४८, वित्त ०.१८, होटल तथा पर्यटन ०.४८, जलविद्युत ०.६९, लगानी ०.२३, जीवन बिमा ०.१९, उत्पादन तथा प्रशोधन ०.२५, लघुवित्त ०.२४ तथा अन्य समूह ०.९३ प्रतिशतले बढे। निर्जीवन बिमा र व्यापार समूह भने क्रमशः ०.१६ र ०.०७ प्रतिशतले घटे।

व्यक्तिगत कम्पनीतर्फ एभरेस्ट कलरको सेयर मूल्य सबैभन्दा धेरै १५ प्रतिशतले बढ्यो। त्यसपछि जोशी हाइड्रोपावर ६.७९, अपर लोहोरेखोला ६.४४, युनिभर्सल पावर ४.३२ तथा विकास हाइड्रोपावर ३.६८ प्रतिशतले उकालो लागे।

यता बोटलर्स नेपाल (बालाजु) को सेयर मूल्य ५.३३ प्रतिशतले घट्दा कालिन्चोक हाइड्रोपावर ३.५५ र कर्पोरेट डेभलपमेन्ट बैंक ३.०३ प्रतिशतले ओरालो लागे।

कारोबार रकमका आधारमा शुक्रबार रिडी पावर, ग्लोबल आईएमई बैंक, सेन्ट्रल फाइनान्स, रिलायन्स स्पिनिङ मिल्स र कर्पोरेट डेभलपमेन्ट बैंक सर्वाधिक कारोबार हुने कम्पनीमा परेका छन् ।