• Menu

काठमाडौंमा दुईदिने ‘बिल्ड नेपाल ह्याकाथन’ सुरु, ६० भन्दा बढी युवा प्रविधिमार्फत समस्या समाधानमा जुट्दै

नेपाल प्रफिट

२०८३ साउन १७, १२:४९

काठमाडौंमा दुईदिने ‘बिल्ड नेपाल ह्याकाथन’ सुरु, ६० भन्दा बढी युवा प्रविधिमार्फत समस्या समाधानमा जुट्दै

काठमाडौं । मिड-भ्याली इन्टरनेसनल कलेजले आयोजना गरेको दुईदिने ‘बिल्ड नेपाल ह्याकाथन’ शनिबारदेखि काठमाडौंमा सुरु भएको छ। ‘बिल्ड टुडे, ट्रान्सफर्म टुमोरो’ नारासहित आयोजना गरिएको ह्याकाथन अगस्ट १ र २ सम्म सञ्चालन हुनेछ ।

युवाको नेतृत्वमा डिजिटल नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा २१ वटा बहुविषयगत टोलीमा विभाजित ६० भन्दा बढी युवा सहभागी भएका छन् । १६ देखि २४ वर्ष उमेर समूहका युवालाई लक्षित कार्यक्रममा सहभागीहरूले कृत्रिम बौद्धिकता (एआई), इन्टरनेट अफ थिङ्स (आईओटी), रोबोटिक्स र क्लाउड प्रविधि प्रयोग गरी नेपालका वास्तविक समस्या समाधान गर्ने कार्यात्मक नमुना (प्रोटोटाइप) विकास गर्नेछन् ।

ह्याकाथनमा स्मार्ट सिटी, स्मार्ट कृषि, शिक्षा तथा सिकाइ, पर्यटन तथा सम्पदा, साइबर सुरक्षा र डिजिटल अर्थतन्त्र गरी ६ वटा विषयगत क्षेत्रमा नवीन समाधान विकासका लागि प्रतिस्पर्धा भइरहेको छ ।

कार्यक्रमका क्रममा सहभागी टोलीलाई सूचना प्रविधि क्षेत्रका ८ जना विज्ञ तथा मेन्टरले प्रत्यक्ष मार्गदर्शन गरिरहेका छन् । आयोजकका अनुसार प्रोशोर, पिनाकिन टेक्नोलोजिज, जेनेसेलगायतका आईटी कम्पनीका विज्ञहरूले प्राविधिक तथा व्यावहारिक पक्षमा आवश्यक सहयोग र परामर्श प्रदान गरिरहेका छन् ।

मिड-भ्याली इन्टरनेसनल कलेजका ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी कार्यक्रमका प्रबन्धक सुदीपलाल बजिमयाले सैद्धान्तिक ज्ञान र व्यावहारिक प्रयोगबीचको दूरी घटाउनु ह्याकाथनको मुख्य उद्देश्य रहेको बताए । उनले युवा नवप्रवर्तकलाई उद्योग क्षेत्रका अनुभवी विज्ञसँग प्रत्यक्ष सहकार्य गर्ने अवसरले देशका वास्तविक समस्या समाधान गर्ने प्रविधिमूलक सोच विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

ह्याकाथनको अन्तिम दिन सहभागी टोलीले आफूहरूले तयार पारेका न्यूनतम व्यवहार्य उत्पादन (एमभीपी) निर्णायकमण्डलसमक्ष प्रस्तुत गर्नेछन्। प्रस्तुतिको मूल्यांकन टेक उद्यमी तथा सिटीटेकका संस्थापक साजन शर्मा, बीएलसी ग्लोबल होल्डिङ्स प्रालिका प्रबन्ध निर्देशक तथा ग्लोबल इक्विटी फन्डका अध्यक्ष मनिष खेम्का र आईएमई खल्तीका सहसंस्थापक तथा निर्देशक अमित अग्रवालले गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा ७५ हजार रुपैयाँभन्दा बढीको पुरस्कार राशि राखिएको छ । कार्यक्रमलाई अल्फा बिटा, जेनेसे, भायानेट, दामी एक्सपिरियन्स, पिनाकिन टेक्नोलोजी, प्रोशोर नेपाल प्रालिलगायतका संस्था तथा प्रविधि क्षेत्रका साझेदारले सहयोग गरेका छन् ।

आयोजकका अनुसार ह्याकाथनका गतिविधि तथा सहभागी टोलीको प्रगति सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिनेछ भने विजेताको घोषणा आइतबार साँझ गरिनेछ ।

काठमाडौंको ज्ञानेश्वरस्थित मिड-भ्याली इन्टरनेसनल कलेजले सूचना प्रविधि, व्यवस्थापन तथा हस्पिटालिटी विषयका स्नातक तहका कार्यक्रम सञ्चालन गर्दै आएको छ। कलेजले व्यावहारिक तथा उद्योगमैत्री शिक्षामार्फत विद्यार्थीलाई प्रविधि, नेतृत्व र नवप्रवर्तनका क्षेत्रमा सक्षम बनाउने लक्ष्य लिएको जनाएको छ ।