
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले पूर्वी नेपाल, विशेषगरी सुनसरीको कप्तानगन्जसहित तराईका केही जिल्लामा पछिल्लो समय देखिएका अशान्तिपूर्ण गतिविधि, हिंसात्मक घटनाक्रम तथा त्यसबाट सिर्जिएको असहज परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
शुक्रबार जारी विज्ञप्तिमा नाडाले नेपाल बहुधार्मिक, बहुभाषिक, बहुजातीय तथा बहुसांस्कृतिक पहिचान बोकेको राष्ट्र भएको उल्लेख गर्दै विविधताभित्रको एकता, आपसी सद्भाव, सहिष्णुता र भाइचाराको भावना नै नेपालको सबैभन्दा ठूलो शक्ति भएको जनाएको छ।
एसोसिएसनले नेपालको संविधानले प्रत्येक नागरिकलाई आफ्ना विचार, असहमति तथा मागहरू शान्तिपूर्ण र लोकतान्त्रिक माध्यमबाट व्यक्त गर्ने मौलिक अधिकार सुनिश्चित गरेको स्मरण गराउँदै कुनै पनि प्रकारका हिंसात्मक गतिविधि, तोडफोड, अशान्ति वा सामाजिक सद्भावमा खलल पुर्याउने कार्य कुनै पनि दृष्टिकोणबाट स्वीकार्य हुन नसक्ने स्पष्ट पारेको छ ।
विज्ञप्तिमा यस्ता घटनाले शान्ति, सुरक्षा र सामाजिक सद्भावमा मात्र नभई आम नागरिकको दैनिक जीवन, उद्योग-व्यवसाय, लगानी, आर्थिक गतिविधि तथा समग्र राष्ट्रिय अर्थतन्त्रमा समेत नकारात्मक असर पर्ने उल्लेख गरिएको छ। यसबाट सम्पूर्ण व्यवसायी समुदाय समेत चिन्तित रहेको नाडाले जनाएको छ ।
नाडाले सबै सम्बन्धित पक्षलाई संयमता अपनाउन तथा कानुनी र लोकतान्त्रिक प्रक्रियामार्फत संवाद र आपसी समझदारीका आधारमा समस्याको शीघ्र समाधान खोज्न आग्रह गरेको छ। साथै, नेपाल सरकार तथा सम्बन्धित निकायलाई शान्ति, सुरक्षा र नागरिकको जनधनको संरक्षण सुनिश्चित गर्दै सामान्य जनजीवन र व्यावसायिक वातावरणलाई यथाशीघ्र सहज बनाउन आवश्यक पहल गर्न अनुरोध गरेको छ ।
एसोसिएसनले सम्पूर्ण नेपाली नागरिकलाई सामाजिक सद्भाव, राष्ट्रिय एकता, आपसी सम्मान र सहिष्णुतालाई अझ सुदृढ बनाउन आ-आफ्नो स्थानबाट सकारात्मक भूमिका निर्वाह गर्न हार्दिक अपिल गरेको छ ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal