• Menu

कुमारी बैंकको मोबाइल एपबाटै अन्तर्राष्ट्रिय ई-सिम र ड्राइभिङ अनुमति पाइने, भुक्तानी नेपाली रुपैयाँमै

नेपाल प्रफिट

२०८३ साउन १३, बुधबार १५:५१

कुमारी बैंकको मोबाइल एपबाटै अन्तर्राष्ट्रिय ई-सिम र ड्राइभिङ अनुमति पाइने, भुक्तानी नेपाली रुपैयाँमै

काठमाडौं । कुमारी बैंक लिमिटेड र नेपालस्थित प्रविधि कम्पनी निम्बज (निम्बज अनलाइन प्रालि) बीच ग्राहकलाई थप डिजिटल सेवा उपलब्ध गराउने उद्देश्यले सहकार्य सम्झौता भएको छ। सम्झौतासँगै निम्बजका अन्तर्राष्ट्रिय ई-सिम (इ-सिम) तथा अन्तर्राष्ट्रिय ड्राइभिङ अनुमति (आईडीपी) सम्बन्धी सेवा कुमारी बैंकको मोबाइल बैंकिङ एपमा एकीकृत गरिएको छ।

यससँगै कुमारी बैंकका ग्राहकले अब मोबाइल बैंकिङ एपमार्फत सहज रूपमा अन्तर्राष्ट्रिय ई-सिम प्याकेज खरिद गर्न तथा अन्तर्राष्ट्रिय ड्राइभिङ अनुमति (आईडीपी) का लागि आवेदन दिन सक्नेछन्।

बैंकका अनुसार यो सेवा विदेश भ्रमण गर्ने नेपाली, उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थी, वैदेशिक रोजगारीमा रहेका नेपाली तथा नियमित रूपमा विदेश यात्रा गर्ने व्यवसायीका लागि विशेष रूपमा उपयोगी हुनेछ।

ई-सिम सेवाले विदेश पुगेपछि स्थानीय सिम कार्ड खरिद वा परिवर्तन गर्नुपर्ने झन्झट हटाई सहज रूपमा इन्टरनेट सेवा प्रयोग गर्न सकिने सुविधा प्रदान गर्नेछ। त्यस्तै, आईडीपी सेवाले अन्तर्राष्ट्रिय ड्राइभिङ अनुमति प्राप्त गर्ने प्रक्रिया थप सरल, छिटो र व्यवस्थित बनाउने बैंकले जनाएको छ।

यस सेवाको अर्को विशेषता भनेको ई-सिम र आईडीपी सेवाको शुल्क कुमारी बैंकको मोबाइल बैंकिङ एपमार्फत नेपाली रुपैयाँमै भुक्तानी गर्न सकिने व्यवस्था हो। यसले अन्तर्राष्ट्रिय सेवाका लागि विदेशी मुद्रामा छुट्टै भुक्तानी गर्नुपर्ने आवश्यकता कम हुने विश्वास बैंकले व्यक्त गरेको छ।

विगत २५ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले हाल देशभर ३०५ शाखा, ४१ विस्तारित काउन्टर, ३०३ एटीएम र ४० शाखारहित बैंकिङ केन्द्रमार्फत सेवा प्रदान गर्दै आएको जनाएको छ।

बैंकले प्रविधिमा आधारित आधुनिक सेवा विस्तार गर्दै डिजिटल रूपान्तरणलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै यस सहकार्यले ग्रामीण, अर्धशहरी तथा शहरी क्षेत्रका ग्राहकसम्म अन्तर्राष्ट्रिय स्तरका डिजिटल सेवाको पहुँच विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।