
चितवन । बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला सेवा इकाई, चितवनमा केमिकल अभावले एक महिनादेखि प्रयोगशालाले दिने सेवा ठप्प भएको छ ।
प्रयोगशालाका निर्देशक नारायणबहादुर कार्कीले बजेट अभावमा केमिकल खरिद गर्न नसक्दा एक महिनादेखि सेवा दिन नसकिएको जानकारी दिए ।
गत वर्ष एक करोड ३५ लाख केमिकल खरिदका लागि विनियोजन भएको रकममा २० लाख अपुग भएकाले प्रयोगशाला बन्द भएको उनले बताए ।
कार्यालयका सूचना अधिकारी रमेश डोवालले सेवा सञ्चालन नहुने भएपछि प्रायः न्यून संख्यामा मात्र बिराम आउने गरेको जानकारी दिए । यसअघि प्रयोगशालामा दैनिक १३० जना बिरामी आउने गरेका थिए । ‘जिल्लामा यो प्रयोगशालालाई विश्वासिलो प्रयोगशालाका रूपमा लिने गरिन्छ,’ उनले भने ।
आर्थिक वर्ष २०८३/८४ का लागि एक करोड पाँच लाख बजेट विनियोजन भएको छ । सो रकमबाट गत सालको तिर्न बाँकी रकम भुक्तानी गरी मधुमेह, सिबिसी, युरिकएसिड र पिसाबका अत्यावश्यक परीक्षण मात्र गरिने भएको छ ।
बागमती प्रदेशका पूर्वस्वास्थ्यमन्त्री उत्तम जोशीले भरतपुरमा उच्च गुणस्तरको सरकारी प्रयोगशाला आवश्यक रहेको जिकिर गरे । यस कार्यालयले गत आवमा दुई करोड हाराहारी राजस्व संकलन गरेको थियो ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal