
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले तराईका केही स्थानमा हालै भएका घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्दै मृतकप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै वर्तमान परिस्थितिमा संयमता, सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई प्राथमिकता दिन सबै पक्षसँग आग्रह गरेको छ ।
बुधबार जारी विज्ञप्तिमा चेम्बरले नेपाल विभिन्न धर्म, संस्कृति र समुदायबीचको आपसी सम्मान, सद्भाव र सहअस्तित्वमा आधारित राष्ट्र भएको उल्लेख गर्दै यही विविधता देशको सबैभन्दा ठूलो शक्ति भएको जनाएको छ। सामाजिक सद्भाव र सहिष्णुताको संरक्षण तथा प्रवर्धन सबै नागरिकको साझा जिम्मेवारी रहेको पनि चेम्बरले स्पष्ट पारेको छ ।
चेम्बरले संवेदनशील परिस्थितिमा अफवाह, भ्रामक सूचना तथा कुनै पनि प्रकारका हिंसात्मक गतिविधिबाट टाढा रहन नागरिकलाई अपिल गरेको छ। कुनै पनि असहमति वा मतभेद मानव जीवन, सामाजिक सद्भाव र राष्ट्रिय एकताभन्दा ठूलो हुन नसक्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
नेपाल चेम्बर अफ कमर्सले शान्ति, सुरक्षा र जनजीवनलाई पुनः सामान्य बनाउन नेपाल सरकार, स्थानीय प्रशासन, सुरक्षा निकाय, जनप्रतिनिधि, विपक्षी दल तथा समुदायका अगुवाले गरिरहेका प्रयासको प्रशंसा गरेको छ। साथै, सबै सम्बन्धित पक्षलाई खुला संवाद, पारदर्शिता, निष्पक्षता र आपसी सम्मानका आधारमा निरन्तर समन्वय र सहकार्य गर्न आग्रह गरेको छ ।
विज्ञप्तिमा धार्मिक अगुवा, सामाजिक संघसंस्था, युवा समूह, नागरिक समाज, सञ्चारमाध्यम तथा निजी क्षेत्रलाई सामाजिक सद्भाव अभिवृद्धि गर्न, सबै धर्म र समुदायप्रति सम्मानको भावना विकास गर्न तथा एकतामूलक वातावरण निर्माणमा सक्रिय योगदान दिन अनुरोध गरिएको छ ।
चेम्बरले आर्थिक समृद्धि र सामाजिक सद्भाव एकअर्काका परिपूरक रहेको उल्लेख गर्दै स्थिर र सुरक्षित वातावरणमा मात्रै व्यवसाय, उद्योग तथा लगानी विस्तार सम्भव हुने जनाएको छ। समुदायबीचको एकताले परिवार, समाज र अर्थतन्त्रलाई अझ सुदृढ बनाउने विश्वास पनि व्यक्त गरेको छ ।
प्रभावित व्यवसायहरूको पुनर्स्थापना, समुदायबीच सहकार्य तथा जनविश्वास पुनर्निर्माणका लागि आवश्यक सकारात्मक पहलमा साथ दिन सधैं तयार रहेको प्रतिबद्धता व्यक्त गर्दै चेम्बरले सरकार, स्थानीय समुदाय र सरोकारवालासँगको सहकार्यमार्फत निजी क्षेत्रले पुनर्निर्माण, पुनरुत्थान तथा दीर्घकालीन शान्ति र समृद्धि स्थापना गर्न महत्वपूर्ण भूमिका खेल्न सक्ने विश्वास व्यक्त गरेको छ ।
चेम्बरले वर्तमान समय विभाजनभन्दा सहिष्णुता, टकरावभन्दा संवाद र मतभेदभन्दा राष्ट्रिय एकतालाई प्राथमिकता दिने समय भएको उल्लेख गर्दै सबै नेपालीलाई सद्भाव, सहिष्णुता र सामाजिक एकताको गौरवशाली परम्परालाई अझ सुदृढ बनाउन आह्वान गरेको छ। साथै, सरकार, विपक्षी दल, निजी क्षेत्र, समुदायका अगुवा, नागरिक समाज तथा सम्पूर्ण नेपालीबीचको सहकार्य, विश्वास र एकतामार्फत प्रभावित क्षेत्रमा छिट्टै पूर्ण शान्ति स्थापना हुने विश्वास व्यक्त गरेको छ ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal