
काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा यात्रु सेवा मञ्च इनड्राइभले महिलालाई व्यावसायिक सवारी चालकका रूपमा अघि बढाउने उद्देश्यले सञ्चालन गरेको ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ कार्यक्रमको पहिलो चरण सफलतापूर्वक सम्पन्न गरेको छ।
काठमाडौंमा आयोजित समारोहमा तीन महिनाको तालिम पूरा गरेका १० जना महिलालाई प्रमाणपत्र प्रदान गरिएको छ। कार्यक्रममा सहभागीलाई सुरक्षित रूपमा दुईपाङ्ग्रे सवारी सञ्चालनका लागि आवश्यक सीप, आत्मविश्वास र व्यावसायिक क्षमता विकाससम्बन्धी तालिम दिइएको थियो।
सन् २०२६ अप्रिलमा सुरु भएको यो कार्यक्रम विशेषगरी अवसरबाट वञ्चित महिलालाई यातायात क्षेत्रमा रोजगारी र आम्दानीको अवसर उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको हो। परम्परागत रूपमा पुरुषको बाहुल्य रहेको क्षेत्रमा महिलाको सहभागिता बढाउने लक्ष्य पनि कार्यक्रमले लिएको छ।
तालिमका क्रममा सहभागीलाई व्यावहारिक सवारी सञ्चालन, सडक सुरक्षासम्बन्धी प्रशिक्षण तथा सवारी चालक अनुमतिपत्र प्राप्त गर्ने प्रक्रियामा समेत सहजीकरण गरिएको थियो। साथै प्रत्येक सहभागीलाई सुरक्षा सामग्री, प्राथमिक उपचार तथा स्वास्थ्यसम्बन्धी सामग्रीसहितको सुरक्षा किट उपलब्ध गराइएको थियो।
महिलाको व्यक्तिगत सुरक्षालाई ध्यानमा राख्दै आत्मरक्षा तालिमसमेत सञ्चालन गरिएको थियो। यसले सम्भावित जोखिम पहिचान गर्न, आत्मविश्वास बढाउन र आवश्यक अवस्थामा सुरक्षित रूपमा सामना गर्न सक्ने क्षमता विकासमा सहयोग पुगेको आयोजकले जनाएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुनिलजंग शाहले सडक सुरक्षा सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै ट्राफिक नियमको पालना, सचेत चालक व्यवहार र निरन्तर सिकाइलाई प्राथमिकता दिन आग्रह गरे ।
कार्यक्रममा सहभागी महिलाले सवारी चालक अनुमतिपत्र प्राप्त गरी आफ्नै समयअनुसार काम गर्न, आम्दानी बढाउन तथा शिक्षा, स्वास्थ्य र बजारसम्म सहज पहुँच विस्तार गर्न सक्ने विश्वास व्यक्त गरिएको छ। साथै दुईपाङ्ग्रे यात्रु सेवामा महिलाको सहभागिता बढेपछि यात्रुलाई महिला चालक रोज्ने थप विकल्प उपलब्ध हुने अपेक्षा गरिएको छ।
समापन समारोहमा सहभागी १० जना महिलालाई प्रमाणपत्र तथा सुरक्षा सामग्री प्रदान गरिएको थियो। साथै उत्कृष्ट सहभागीमध्ये एक जनालाई विद्युतीय स्कुटर, तीन जनालाई स्मार्टफोन र ६ जनालाई स्मार्ट घडी प्रदान गरिएको आयोजकले जनाएको छ।
इनड्राइभका प्रतिनिधिहरूले कार्यक्रमले महिलालाई सवारी चालकको पेशामा प्रवेश गर्ने अवसर सिर्जना गर्नुका साथै आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताएका छन् ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal