• Menu

सडक दुर्घटना घटाउन र सौन्दर्य बढाउन सडकका पोल सारिँदै, स्थानीय तहसँग समन्वय गरेर काम थाल्ने तयारी

नेपाल प्रफिट

२०८३ साउन १२, १६:३६

सडक दुर्घटना घटाउन र सौन्दर्य बढाउन सडकका पोल सारिँदै, स्थानीय तहसँग समन्वय गरेर काम थाल्ने तयारी

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सडक सुरक्षा सुधार र शहरी सौन्दर्यीकरणलाई लक्षित गर्दै मुख्य शहरी सडकको बीच भागमा रहेका विद्युत पोल स्थानान्तरण गर्ने योजना अघि बढाएको छ। आर्थिक वर्ष २०८३/८४ को सरकारी कार्यक्रमअन्तर्गत स्थानीय तहसँग समन्वय गरी यो अभियान सञ्चालन गर्न लागिएको हो।

प्राधिकरणले स्थानीय तहलाई आफ्नो क्षेत्रभित्र सडकको बीचमा रहेका, दुर्घटनाको जोखिम बढाइरहेका वा सडक विस्तारमा अवरोध बनेका पोलको पहिचान गरी सम्बन्धित वितरण केन्द्रसँग समन्वय गर्न आग्रह गरेको छ। प्रस्तावमा पोलको संख्या, आवश्यक सामग्री, अनुमानित लागत र प्राथमिकता उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ।

वितरण केन्द्रले स्थानीय तहबाट प्राप्त विवरणका आधारमा कार्यक्रम तयार गरी प्रादेशिक वा डिभिजन कार्यालयमार्फत कार्यान्वयन प्रक्रिया अघि बढाउनेछ। पोल स्थानान्तरण भएपछि सवारी दुर्घटनाको जोखिम घट्ने, सडक विस्तार तथा फुटपाथ निर्माण सहज हुने र सार्वजनिक यातायात सञ्चालन थप सुरक्षित तथा व्यवस्थित हुने अपेक्षा गरिएको छ।

यसैगरी, भूमिगत विद्युत प्रणाली सञ्चालनमा आइसकेका क्षेत्रमा प्रयोगविहीन पुराना पोल, तार र केबल हटाउने अभियान पनि सञ्चालन गरिनेछ। यसबाट शहरको सौन्दर्य बढ्नुका साथै सडक र पैदलमार्ग व्यवस्थापनमा सुधार आउने प्राधिकरणको विश्वास छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सम्बन्धित मन्त्रालय, स्थानीय तह, सडक विभाग तथा अन्य निकायबीच प्रभावकारी समन्वय गरेर कार्यक्रम कार्यान्वयन गर्न निर्देशन दिएको छ। एउटै स्थानमा फरक-फरक निकायले छुट्टाछुट्टै काम गर्दा हुने दोहोरो खर्च, सडक उत्खनन, सार्वजनिक असुविधा र विद्युत आपूर्तिमा पर्ने असर कम गर्न एकीकृत योजनामा जोड दिइएको छ।

नेपाल विद्युत प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख राजन ढकालले प्रादेशिक तथा डिभिजन कार्यालयलाई स्थानीय तहसँग समन्वय गरी प्राथमिकताका आधारमा योजना तयार गर्न निर्देशन दिएका छन्। उपलब्ध स्रोत-साधनको अधिकतम उपयोग, पुनः प्रयोग गर्न सकिने सामग्रीको व्यवस्थापन तथा विद्युत आपूर्तिमा न्यूनतम अवरोध हुने गरी योजना कार्यान्वयन गरिने प्राधिकरणले जनाएको छ।