
एजेन्सी । इरानले क्यास्पियन सागरमा आफ्नो व्यापारिक जहाजमाथि भएको आक्रमणका लागि युक्रेनलाई जिम्मेवार ठहर गर्दै घटनाको कडा जवाफ दिने चेतावनी दिएको छ। शनिबार भएको उक्त आक्रमणमा एक नाविकको मृत्यु भएको र अर्का एक जना घाइते भएको इरानले जनाएको छ।
इरानी सरकारी समाचार संस्था इरनाका अनुसार इरानी विदेश मन्त्रालयले जहाजमा भएको विस्फोटलाई शत्रुतापूर्ण आक्रमणको संज्ञा दिँदै यसको कडा विरोध गरेको छ। मन्त्रालयले रुस-युक्रेन युद्धमा आफूले प्रत्यक्ष हस्तक्षेप नगरेको दाबी गर्दै व्यापारिक जहाजलाई निशाना बनाइएको आरोप लगाएको छ।
यता, युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सामाजिक सञ्जालमार्फत क्यास्पियन सागरमा गरिएको लामो दूरीको आक्रमण सफल भएको बताएका छन्। उनका अनुसार इरानसँग सम्बन्धित सैन्य सामग्री ओसारपसारमा प्रयोग हुने जहाज तथा एउटा युद्धपोतलाई लक्षित गरेर कारबाही गरिएको थियो।
युक्रेनको सुरक्षा निकाय (एसबीयू) ले पनि इरान र रुसबीच सैन्य सामग्री ढुवानीमा प्रयोग हुने तथा अन्तर्राष्ट्रिय प्रतिबन्धमा परेका कार्गो जहाजमाथि ड्रोन आक्रमण गरिएको जनाएको छ।
घटनापछि इरानी विदेश मन्त्रालयले तेहरानस्थित युक्रेनका कार्यवाहक राजदूतलाई बोलाएर औपचारिक विरोध जनाएको छ। इरानी सरकारी टेलिभिजनका अनुसार मन्त्रालयले उक्त घटनालाई ‘शत्रुतापूर्ण र आपराधिक कार्य’ को संज्ञा दिएको छ।
यसैबीच, इरानी विदेशमन्त्री अब्बास अराघचीले युरोपेली संघ (ईयू) की विदेश नीति प्रमुख काजा कालाससँगको संवादमा घटनाको निन्दा गर्दै युरोपेली संघ र संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्बाट कडा प्रतिक्रिया दिन आग्रह गरेका छन्।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal