
काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोसी नदीमा विद्युतीय गाडी खसेपछि बेपत्ता भएका चालकको खोजी तथा उद्धार कार्यको निरीक्षण तथा सुरक्षाकर्मीलाई हौसला दिन गृहमन्त्री सुदन गुरुङ शनिबार साँझ घटनास्थल पुगेका छन् ।
प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार गृहमन्त्रीले घटनास्थलको स्थलगत निरीक्षण गरेपछि तीनवटै सुरक्षा निकायका सुरक्षाकर्मी, गोताखोर तथा १० वटा ड्रोन परिचालन गरी बेपत्ता चालकको खोजी तीव्र पारिएको छ ।
दुर्घटनामा कालिका गाउँपालिका-३ तल्लो धारापानीका २२ वर्षीय सविन तामाङ चालकसहित विद्युतीय सवारीसाधन भोटेकोसीमा खसेको थियो। उनको खोजीका लागि जिल्ला विपद् व्यवस्थापन समितिले समन्वय गरिरहेको छ ।
समितिका अनुसार दुर्घटनास्थल गहिरो खोँचमा रहेको, नदीको पानी धमिलो भएको तथा किनारमा रहेका विशाल चट्टानका कारण खोजी तथा उद्धार कार्य चुनौतीपूर्ण बनेको छ। सुरक्षाकर्मीले प्रतिकूल अवस्थाबीच बेपत्ता चालकको खोजी जारी राखेका छन् ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal