
पर्सा । नेपाल चिकित्सक संघले वीरगन्जस्थित नारायणी अस्पतालका मेडिकल अफिसर डा. प्रमोद राममाथि भएको आक्रमणको कडा निन्दा गर्दै घटनामा संलग्नलाई तत्काल कानुनी दायरामा ल्याई कडा कारबाही गर्न सरकारसँग माग गरेको छ।
संघले आइतबार जारी गरेको विज्ञप्तिमा शनिबार बेलुका करिब ४०-५० जनाको समूहले डा. राममाथि मरणासन्न हुनेगरी साङ्घातिक आक्रमण गरेको उल्लेख गर्दै यस्तो घटनाले स्वास्थ्यकर्मीको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको जनाएको छ ।
विज्ञप्तिअनुसार शनिबार बिहान मुटुसम्बन्धी समस्याका एक बिरामीलाई नारायणी अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । घटनाको वास्तविकता नबुझी केही व्यक्तिले आकस्मिक कक्षमा तोडफोड गर्दै आतंक सिर्जना गरेका थिए। सोही क्रममा डा. राममाथि आक्रमण भएको संघले जनाएको छ ।
नेपाल चिकित्सक संघले स्वास्थ्य संस्थाजस्तो संवेदनशील क्षेत्रमा हिंसात्मक गतिविधि अस्वीकार्य भएको उल्लेख गर्दै दोषीलाई अविलम्ब पक्राउ गरी कानुनबमोजिम कडा कारबाही गर्न र स्वास्थ्यकर्मीले सुरक्षित तथा भयरहित वातावरणमा सेवा दिन पाउने सुनिश्चितता गर्न सरकारसँग माग गरेको छ ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal