
धनुषा । केही समयअघिसम्म साँझ परेपछि अँध्यारो र सुनसान देखिने जनकपुरधामका सडक अहिले झिलीमिली उज्यालो बनेका छन्। जनकपुरधाम उपमहानगरपालिकाले सञ्चालन गरेको ‘उज्यालो जनकपुरधाम’ अभियानअन्तर्गत मुख्य सडक तथा गल्लीमा हाइमास्ट र सेन्सरयुक्त सडकबत्ती जडान गरेपछि नगरको स्वरूप परिवर्तन भएको हो ।
जनकपुरधाम-४ का स्थानीय रोशन कर्णले पहिले साँझपरेपछि सडकमा हिँडडुल गर्न कठिन हुने गरे पनि अहिले रातिको समयमा पनि सुरक्षित रूपमा आवतजावत गर्न सकिने वातावरण बनेको बताए ।
स्थानीय सहदेव साहका अनुसार विगतमा अधिकांश सडकबत्ती नबल्ने वा नै नभएका कारण चोरी तथा लुटपाटका घटना हुने गर्थे। अहिले सडक उज्यालो भएपछि त्यस्ता घटनामा कमी आएको र नगरको सौन्दर्यसमेत बढेको उनको भनाइ छ ।
उपमहानगरपालिकाका अनुसार अभियानअन्तर्गत नगरका मुख्य सडक र गल्लीमा सडकबत्ती जडानलाई तीव्रता दिइएको छ । नगर प्रमुख मनोज साहले रेल्वे स्टेशनदेखि विमानस्थलसम्म, जानकी मन्दिरदेखि रामानन्द चोकसम्म तथा परिक्रमा मार्गमा हाइमास्ट र सेन्सरयुक्त सडकबत्ती जडान गरिएको जानकारी दिए। बाँकी क्षेत्रमा पनि बत्ती जडानको काम निरन्तर भइरहेको उनले बताए ।
स्थानीयवासीका अनुसार सडकबत्ती जडानसँगै जनकपुरधाममा सरसफाइ, पूर्वाधार विकास तथा शहरी व्यवस्थापनका अन्य योजनाले पनि गति लिएको छ। विगतमा फोहर र अव्यवस्थित सहरका रूपमा चिनिने जनकपुरधाम अहिले आधुनिक र आकर्षक नगरका रूपमा रूपान्तरण हुँदै गएको छ ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal