• Menu

आइफोन माग्दा नदिएपछि बागलुङमा साथीहरूकै कुटपिटबाट १७ वर्षीय लजिनको हत्या

नेपाल प्रफिट

२०८३ साउन १०, १५:२१

आइफोन माग्दा नदिएपछि बागलुङमा साथीहरूकै कुटपिटबाट १७ वर्षीय लजिनको हत्या

बागलुङ । बागलुङको बडिगाड गाउँपालिका-१ का १७ वर्षीय लजिन थापाको हत्या मोबाइल फोनको विवादका कारण आफ्नै साथीहरूले गरेको प्रहरीले जनाएको छ। घटनामा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार साउन १ गते साथी असिम वनको जन्मदिन मनाउन गएका लजिनको शव बिहीबार स्थानीय मनखोलामा फेला परेको थियो। घटनामा २० वर्षीय रेमबहादुर विक, १९ वर्षीय सुदीप विक, १६ वर्षीय असिम वन र १५ वर्षीय ददी परियारलाई नियन्त्रणमा लिइएको छ।

प्रहरी उपरीक्षक फडिन्द्र प्रसाईंका अनुसार जन्मदिन मनाउने क्रममा साथीहरूले रातिसम्म मदिरा सेवन गरेका थिए। घर फर्कने क्रममा लजिनसँग रहेको आइफोन माग्दा नदिएपछि विवाद भएको र कुटपिटका क्रममा उनी बेहोस भएपछि मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रहरीका अनुसार लजिनको मृत्यु भएपछि आरोपितहरूले शव घटनास्थलबाट करिब आधा घण्टाको दूरीमा लगेर लुकाएका थिए । अनुसन्धानमा जन्मदिन कार्यक्रममा सात जना सहभागी रहेको, तर अन्य साथी घर फर्किएपछि रेमबहादुर विक र ददी परियारले लजिनलाई पछ्याएर एकान्त स्थानमा आक्रमण गरेको खुलेको छ। सो कार्यक्रममा एक जना नौ वर्षीय बालक पनि उपस्थित रहेको प्रहरीले जनाएको छ ।

लजिन बेपत्ता भएपछि प्रहरीले प्राविधिक विज्ञ, तालिमप्राप्त कुकुर र ड्रोन क्यामेराको सहयोगमा खोजी अभियान सञ्चालन गरेको थियो। त्यसपछि मनखोलामा शव फेला परेको हो ।

प्रहरीले पक्राउ परेकाविरुद्ध व्यक्ति बेपत्ता पारेको कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान गरिरहेको जनाएको छ ।

धुम्बाराहीस्थित साइपाल कलेजमा कक्षा ११ मा अध्ययनरत लजिन केही समयअघि बिदामा घर आएका थिए। साथीको जन्मदिन मनाउन गएका उनी आफ्नै साथीहरूको आक्रमणमा ज्यान गुमाउन पुगे ।