
काठमाडौं। त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन सङ्कायअन्तर्गत ‘मास्टर्स अफ बिजनेस स्टडिज’ (एमबिएस) को प्रश्नपत्र सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको आरोपमा केही व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको निर्देशनपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले आज बिहान उनीहरूलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको हो।
गत साउन ८ गते स्नातकोत्तर तहको ‘अर्गनाइजेसनल बिहेबियर’ विषयको परीक्षा सुरु भएको केही मिनेटमै प्रश्नपत्र सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। घटनापछि त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायको डिन कार्यालयले अनुसन्धान तथा आवश्यक कारबाहीका लागि साइबर ब्यूरोलाई पत्राचार गरेको थियो।
यसैबीच, परीक्षा नियन्त्रण महाशाखाले घटनाको छानबिन गर्न प्रा. डा. अच्युत ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिमा अनुगमन निर्देशनालयका उपनिर्देशक सहप्राध्यापक पुष्कर रैखला र केन्द्रीय परीक्षा सञ्चालक समितिका सदस्य सहप्राध्यापक महेशराज ओझा सदस्य रहेका छन्।
समितिलाई घटनाबारे विस्तृत छानबिन गरी सात कार्यदिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal