• Menu

इरानमाथिको सैन्य कारबाही रोक्न ट्रम्पको आदेश

नेपाल प्रफिट

२०८३ साउन १०, १२:५८

इरानमाथिको सैन्य कारबाही रोक्न ट्रम्पको आदेश

 एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानविरुद्ध जारी सैन्य कारबाही अस्थायी रूपमा रोकेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। तर, आक्रमण रोक्नुको वास्तविक कारणबारे फरक-फरक विवरण सार्वजनिक भएका छन्।

सीएनएन ले पेन्टागनका एक स्रोतलाई उद्धृत गर्दै अमेरिकी सैन्य कारबाही रोकिएको जनाएको छ। यद्यपि, कारबाही कति समयका लागि स्थगित गरिएको हो भन्नेबारे स्पष्ट जानकारी दिइएको छैन।

सीबीएस न्युज का अनुसार ओमानको प्रतिनिधिमण्डलले ‘स्ट्रेट अफ होर्मुज’ पुनः सञ्चालन गर्ने विषयमा तेहरानमा वार्ता गर्न जाने तयारी गरेपछि कूटनीतिक प्रयासलाई असर नपरोस् भन्ने उद्देश्यले अमेरिकाले सैन्य कारबाही स्थगित गरेको हो।

यता, द न्युयोर्क टाइम्स ले भने अमेरिकी वायु रक्षा प्रणालीमा प्रयोग हुने इन्टरसेप्टर क्षेप्यास्त्रको भण्डार तीव्र रूपमा घट्दै गएको चेतावनीपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्य अभियान विस्तार गर्ने योजना रोकेको जनाएको छ ।

समाचारअनुसार अमेरिकी सेनाका संयुक्त प्रमुख कर्मचारी समितिका अध्यक्ष डान केनले थप व्यापक सैन्य कारबाही अघि बढाइए अमेरिकी केन्द्रीय कमान्डसँग रहेका इन्टरसेप्टर क्षेप्यास्त्रको मौज्दात सकिन सक्ने चेतावनी दिएका थिए ।

हालसम्म अमेरिकाले इरानविरुद्धको सैन्य कारबाहीमा एक हजार २०० भन्दा बढी प्याट्रियट इन्टरसेप्टर क्षेप्यास्त्र प्रयोग गरिसकेको बताइएको छ। प्रत्येक इन्टरसेप्टरको लागत ४० लाख अमेरिकी डलरभन्दा बढी पर्ने जनाइएको छ ।