
काठमाडौं । शक्तिशाली टाइफुन ‘नाउल’ दक्षिणी चीनमा ठोक्किएपछि ग्वाङडोङ प्रान्तको जनजीवन नराम्ररी प्रभावित भएको छ। आँधीसँगै आएको तीव्र हावाहुरी र भारी वर्षाका कारण सात लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ भने सयौँ उडान र रेल सेवा रद्द गरिएका छन् ।
चीनको राष्ट्रिय मौसम केन्द्रका अनुसार टाइफुन आइतबार बिहान ग्वाङडोङ प्रान्तको हुइझोउ सहरअन्तर्गत हुइडोङ काउन्टीको तटीय क्षेत्रमा ठोक्किएको हो। सरकारी समाचार संस्था सिन्ह्वाले यसलाई यस वर्ष चीनमा प्रवेश गरेको सबैभन्दा शक्तिशाली टाइफुन जनाएको छ ।
हङकङको मौसम विभागका अनुसार टाइफुनको केन्द्रनजिक प्रतिघण्टा ११० किलोमिटर वेगको हावा चलेको थियो। भित्री भूभागतर्फ अघि बढ्दै जाँदा यसको शक्ति कमजोर भए पनि धेरै क्षेत्रमा भारी वर्षा र तीव्र हावाहुरी जारी रहेको बताइएको छ ।
चाइना नेसनल रेडियोका अनुसार ग्वाङडोङमा ७ लाख १५ हजारभन्दा बढी नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ । खराब मौसमका कारण प्रान्तका विभिन्न रेल सेवा रद्द गरिएका छन् भने हङकङ अन्तर्राष्ट्रिय विमानस्थलबाट सञ्चालन हुने करिब ३५० उडान पनि रद्द गरिएको छ ।
सरकारी प्रसारण संस्था सीसीटीभीका अनुसार ग्वाङडोङको तटीय हुइलाइ काउन्टीमा धेरै रुख ढलेका छन्। हङकङमा आँधीका कारण कम्तीमा नौ जना घाइते भएका छन् भने शनिबार एक अग्लो भवनमा जडान गरिएको मचानको केही भाग भत्किएको भए पनि त्यस घटनामा कुनै मानवीय क्षति भएको छैन ।
उता, ताइवानको दक्षिणी र पूर्वी क्षेत्रमा पनि टाइफुन ‘नाउल’को प्रभावका कारण वर्षा भएको छ ।
यसअघि यही महिनाको सुरुमा टाइफुन ‘भाभी’ ले पूर्वी चीनमा ठूलो क्षति पुर्याउँदा २० लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो भने जुलाई ३ मा टाइफुन ‘मेसाक’ पनि दक्षिणी चीनमा ठोक्किएको थियो ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal