
सुर्खेत । कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सर्वसहमतिले पारित भएको छ ।
कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको आठौँ अधिवेशनको आज बसेको २०औँ बैठकमा सभामुख नन्दा गुरुङले आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहलाई कर्णाली प्रदेशसभा नियमावली २०८१ को नियम १४१ को उपनियम १२ बमोजिम कर्णाली प्रदेश विनियोजन विधेयक २०८३ र सोही नियमवालीको १४८ बमोजिम कर्णाली प्रदेश आर्थिक विधेयक २०८३ सहित आगामी आव २०८३/८४ को समग्र बजेट पारित गरियोस् भनी सभामा प्रस्ताव गर्न समय दिए ।
मन्त्री शाहले कर्णाली प्रदेशसभा नियमावली २०८१ को नियम १४१ को उपनियम १२ बमोजिम विनियोजन तथा आर्थिक विधेयकसहित आव २०८३/८४ को समग्र बजेट पारित गरियोस् भनी सभामा प्रस्ताव गरे ।
सभामुख गुरुङले सभाका सदस्यहरूको ध्वनि मतका आधारमा आव २०८३र८४ बजेट सर्वसहमतिले पारित भएको घोषणा गरे । उनका अनुसार सभाको अर्को बैठक असार २२ गते सोमबार दिउँसो ३:०० बजे बस्नेछ ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal