• Menu

सानिमा र स्ट्यान्डर्ड चार्टर्ड बैंकद्वारा ‘रियल टाइम’ सीमापार भुक्तानी सुरु

नेपाल प्रफिट

२०८३ असार १९, शुक्रबार १७:५८

सानिमा र स्ट्यान्डर्ड चार्टर्ड बैंकद्वारा ‘रियल टाइम’ सीमापार भुक्तानी सुरु

काठमाडौं । सानिमा बैंक लिमिटेड र स्ट्यान्डर्ड चार्टर्ड बैंक भारतले भारतीय रुपैयाँमा हुने सीमापार भुक्तानी कारोबारका लागि आधुनिक अनुप्रयोग अन्तरसम्बन्ध (एपीआई) मा आधारित भुक्तानी सेवा सञ्चालनमा ल्याएका छन् ।

यो सहकार्यसँगै सानिमा बैंक स्ट्यान्डर्ड चार्टर्ड बैंक भारतसँग अनुप्रयोग अन्तरसम्बन्धमार्फत सीमापार भुक्तानी प्रणाली जोड्ने नेपालको पहिलो बैंक बनेको छ ।

बैंकका अनुसार नयाँ प्रणाली लागू भएपछि परम्परागत रूपमा हातैले सञ्चालन हुने तथा चरणबद्ध रूपमा प्रशोधन गरिने भुक्तानी प्रक्रियाको स्थान स्वचालित र वास्तविक समयमै भुक्तानी हुने प्रणालीले लिनेछ। यसबाट भुक्तानी सेवा अझ छिटो, सुरक्षित र प्रभावकारी हुने विश्वास गरिएको छ।

दुवै बैंकले निकट भविष्यमा अमेरिकी डलरमा हुने सीमापार भुक्तानीलाई पनि यही प्रविधिमार्फत सञ्चालन गर्ने समझदारी भएको जनाएका छन्। यसले अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीलाई थप सहज र आधुनिक बनाउन महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

यस अवसरमा सानिमा बैंकका प्रमुख वित्तीय अधिकृत निरज ढकालले यो पहल सीमापार बैंकिङ सेवालाई थप नवीन, सरल, छिटो र भरपर्दो बनाउने बैंकको प्रतिबद्धताको निरन्तरता भएको बताए। उनले यसबाट नेपाल-भारतबीचको वित्तीय कारोबार अझ सुरक्षित, सहज र द्रुत हुने तथा ग्राहकको सेवा अनुभवमा उल्लेखनीय सुधार आउने विश्वास व्यक्त गरे।

त्यसैगरी स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालका वित्तीय संस्था विभाग प्रमुख राजकमल बस्नेतले स्ट्यान्डर्ड चार्टर्डको सीमापार भुक्तानीसम्बन्धी अनुभव र सानिमा बैंकको प्रविधिमैत्री भुक्तानी प्रणालीको संयोजनले अन्तर्राष्ट्रिय कारोबारलाई अझ प्रभावकारी बनाउने बताए। उनका अनुसार यस सहकार्यले कारोबार सम्पन्न हुने समय र लागत घटाउनुका साथै पारदर्शिता, सुरक्षा, कार्यदक्षता र नियामकीय अनुपालनलाई थप सुदृढ बनाउनेछः।