• Menu

लायन्स क्लब अफ काठमाडौं समर्पणद्वारा रक्तदान र ट्राफिक स्वयंसेवाबाट नयाँ लायन्स वर्षको शुभारम्भ

नेपाल प्रफिट

२०८३ असार १९, शुक्रबार १८:०३

लायन्स क्लब अफ काठमाडौं समर्पणद्वारा रक्तदान र ट्राफिक स्वयंसेवाबाट नयाँ लायन्स वर्षको शुभारम्भ

काठमाडौं । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ आई (एमडी ३२५) नेपालअन्तर्गतको लायन्स क्लब अफ काठमाडौं समर्पणले नवनिर्वाचित अध्यक्ष लायन दीपक कुमार अग्रवालको नेतृत्वमा लायन्स वर्ष २०२६-२७ को शुभारम्भ विविध सामाजिक सेवामूलक कार्यक्रममार्फत गरेको छ।

क्लबले यस वर्षको मूल नारा ‘साझेदारीमार्फत सेवा’ (Caring by Sharing) लाई आत्मसात गर्दै पहिलो दिन नक्सालस्थित ब्लु स्क्वायरमा यामाहा र एमएडब्लु फाउन्डेसनको सहकार्यमा वृहत् रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा क्लबका सदस्य, स्वयंसेवक तथा शुभेच्छुकसहित १०० भन्दा बढी व्यक्तिको सहभागिता रहेको थियो। रक्तदान कार्यक्रमबाट ६८ पिन्ट रगत संकलन भएको क्लबले जनाएको छ। यसबाट रक्त अभाव न्यूनीकरणमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ ।

यसअघि बिहान क्लबले विद्यार्थीहरूको सक्रिय सहभागितामा ट्राफिक स्वयंसेवा कार्यक्रम पनि सञ्चालन गरेको थियो। यामाहा र एमएडब्लु फाउन्डेसनको सहकार्यमा आयोजित उक्त कार्यक्रममार्फत ट्राफिक व्यवस्थापनमा सहयोग गर्नुका साथै सडक सुरक्षा र नागरिक उत्तरदायित्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्य राखिएको क्लबले जनाएको छ ।

यस अवसरमा क्लबका अध्यक्ष लायन दीपक कुमार अग्रवालले नयाँ लायन्स वर्ष सेवाभाव, समर्पण र सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राखेर सुरु गरिएको बताए।

उनले भने, ‘साझेदारीमार्फत सेवा’ भन्ने हाम्रो मूल नारा केवल शब्दमा सीमित छैन, यो समाजप्रतिको हाम्रो प्रतिबद्धता हो। समाजलाई केही फर्काउने सानो प्रयासले पनि धेरैको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्छ। आज आयोजित रक्तदान र ट्राफिक स्वयंसेवा कार्यक्रम त्यसैको उदाहरण हुन्।’

क्लबका अनुसार कार्यक्रममा सदस्यहरूको उत्साहपूर्ण सहभागिताले समाजप्रति लायन्सको सेवाभाव, नेतृत्व क्षमता र सामूहिक उत्तरदायित्वलाई थप सुदृढ बनाएको छ ।

लायन्स क्लब अफ काठमाडौं समर्पणले रक्तदाता, स्वयंसेवक, विद्यार्थी, स्वास्थ्यकर्मी, यामाहा, एमएडब्लु फाउन्डेसन तथा कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै सहयोगी संस्था र व्यक्तिप्रति आभार व्यक्त गरेको छ ।

क्लबले नयाँ लायन्स वर्षमा शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, युवा सशक्तीकरण तथा मानवीय सेवासम्बन्धी विविध कार्यक्रम सञ्चालन गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउने अभियानलाई थप प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता पनि जनाएको छ ।

सम्बन्धित समाचार