• Menu

मनसुनजन्य विपद् व्यवस्थापनका लागि १० हजारभन्दा बढी प्रहरी ‘स्ट्याण्डबाइ’, उद्धार टोली २४सै घण्टा तैनाथ

नेपाल प्रफिट

२०८३ असार १९, शुक्रबार १७:४४

मनसुनजन्य विपद् व्यवस्थापनका लागि १० हजारभन्दा बढी प्रहरी ‘स्ट्याण्डबाइ’, उद्धार टोली २४सै घण्टा तैनाथ

काठमाडौं । नेपाल प्रहरीले मनसुनजन्य विपद्का घटनाहरूमा जनधनको क्षति हुन नदिन र उद्धारलाई प्रभावकारी बनाउन पूर्वतयारी सम्पन्न गरेको छ ।

विपद्को अवस्थामा तत्काल परिचालन हुनेगरी प्रहरी हेडक्वार्टरदेखि चौकीस्तरसम्मका प्रहरी इकाईमा आवश्यक उपकरणसहितको जनशक्ति तयारी अवस्थामा राखिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण ‘मनसुनजन्य विपद् पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८३’ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ ।

सोही कार्ययोजनाबमोजिम नेपाल प्रहरीले ‘विपद् मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना, २०८३’ निर्माण गरी कार्यान्वयनमा ल्याएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबिनारायण काफ्लेले जानकारी दिए । उनले विपद् व्यवस्थापनमा प्रभावकारी जनशक्ति परिचालन र कुशल उद्धारका लागि आवश्यकताअनुसार अन्य सम्बन्धित निकायहरूसँग समन्वय गरिएको जानकारी दिए ।

प्रवक्ता काफ्लेले भने, ‘विशेषगरी मनसुनजन्य विपद् हुनसक्ने जोखिमयुक्त क्षेत्र र सुरक्षित स्थानको जिल्लागत रूपमा पहिचान, विपद्को प्रकृतिअनुसार उद्धार सामग्रीको मर्मतसम्भार र तत्काल परिचालन हुनेगरी प्रहरी चौकीस्तरसम्मका प्रहरी इकाईहरू तयारी हालतमा रहेका छन् ।’

विपद्को अवस्थामा तत्काल परिचालन हुनेगरी विपद् प्रतिकार्य तथा तालिम केन्द्रमा दुई प्लाटुन र प्रदेश प्रहरी विपद् व्यवस्थापन गुल्ममा एक-एक प्लाटुन उद्धार टोली २४सै घण्टा उपकरणसहित तैनाथ रहेका उनले जानकारी दिए ।

विपद् प्रतिकार्यका लागि १० हजार ८५ जना प्रहरीलाई तत्काल परिचालित हुनसक्नेगरी तयारी हालतमा राखिएको छ । प्रभावकारी खोज तथा उद्धार एवं व्यवस्थापनका लागि नेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिम केन्द्र र प्रदेश प्रहरी विपद् व्यवस्थापन गुल्महरूले आवश्यकताअनुसार तत्काल वा चरणबद्ध रूपमा प्रहरी परिचालन गर्नेछन् ।

प्रवक्ता काफ्लेले भने, ‘मनसुन तथा भारी वर्षाको जोखिमलाई ध्यानमा राखी सबै सुरक्षा निकायहरूको सहभागितामा मनसुनजन्य उद्धार अभ्यासहरू गरिएको छ । जनधनको क्षति न्यूनीकरणको लागि बृहत्त रूपमा सामुदायिक सचेतना कार्यक्रमहरू सञ्चालन गरिएको छ ।’ विपद् व्यवस्थापनमा त्रुटिरहित कार्यसम्पादन गर्न प्रहरी कर्मचारीलाई विपद् उद्धारसम्बन्धी अनुशिक्षण प्रदान गरिएको उनले बताए ।

प्रहरी अस्पताल, प्रदेश प्रहरी अस्पताल, सूचना तथा प्रविधि निर्देशनालय, सवारी महाशाखा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालय र नेपाल प्रहरी केनाइन कार्यालयको जनशक्तिलाई तयारी अवस्थामा राखिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

प्रशिक्षण प्रदायक कार्यालय तथा विशिष्टिकृत इकाईको जनशक्ति विपद्को समयमा परिचालित हुँदा उद्धार सामग्री नभएको खण्डमा नजिकको प्रहरी गण, विपद् विशिष्टिकृत कार्यालयबाट उद्धार सामग्री लिई परिचालित हुनेछन् ।

विशेष परिस्थितिमा अपुग हुने उद्धार सामग्री आवश्यकताअनुसार स्थानीय तह, विभिन्न संघसंस्थासँग समन्वय गरी व्यवस्थापन गरिने प्रवक्ता काफ्लेले जानकारी दिए ।