पोलिटिक्स फर प्रफिट
काठमाडौं । ‘मलाई केही पनि चाहिएको छैन । पार्टीमा कुरा गर्नुस्, कसैलाई चुनाव चिन्ह चाहिन्छ, लैजानुस् । झण्डा चाहिन्छ, लैजानुस् । पार्टी अफिस चाहिन्छ, लैजानुस् । सिंगो पार्टी, सभापति उपसभापति चाहिन्छ, लैजानुस् । देश बन्नुपर्यो व्यक्तिको कुनै ठूलो कुरो होइन ।‘
२०८२ पुस ५ गते । चितवनको चौबिसकोटी ।
कारागारमुक्त भएपछि चितवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देखाएको उदारता हो यो ।
भैरहवा कारागारबाट मुक्त भएको भोलिपल्ट चितवन पुगेका लामिछानेले चौबिसकोटीमा आयोजित सभामा गरेको यो सम्बोधनले देशभरका सञ्चार संस्था र सामाजिक सञ्जाल गरमागरम भयो भने राजनीतिक दलहरुको मथिंगल हल्लायो ।
रवि लामिछानेको यो अभिव्यक्ति एकातर्फ मूलत: त्यसबेला काठमाडौं महानगरपालिकाको नेतृत्व गरिरहेका बालेन्द्र शाह अर्थात् बालेन र उज्यालो नेपाल पार्टीको छायाँ नेतृत्व गरिरहेका कुलमान घिसिङतर्फ लक्षित थियो भने अर्कोतर्फ वर्षौंदेखि पद च्यापेर माखो नमार्ने ठुला राजनीतिक दलका नेतृत्वको प्रवृत्तिविरुद्ध केन्द्रित थियो ।
राजनीतिभन्दा माथि देशलाई राख्ने त्यही अभिव्यक्ति रवि लामिछानेको राजनीतिक यात्राको एउटा महत्वपूर्ण सन्देशका रूपमा आज पनि प्रस्तुत हुँदै आएको छ । सत्ता र पदको परम्परागत राजनीतिभन्दा फरक शैली देखाउने प्रयास, पुराना दलप्रतिको असन्तुष्टिलाई सम्बोधन गर्ने भाषा र ‘डेलिभरी’ केन्द्रित राजनीतिको वकालत- यही छविले रवि लामिछानेलाई छोटो समयमै वैकल्पिक राजनीतिभन्दा अघि बढाएर राजनीतिको मूल प्रवाहमा पुर्याएको छ ।
उनको उदार अभिव्यक्तिलाई त्यसबेला कतिपयले स्टन्डबाजीको संज्ञा दिए । तर, देश बनाउन सबै नयाँहरु मिलिरहँदा गर्नुपर्ने हदैसम्मको त्याग उनको अन्तरआत्माबाटै प्रस्फुटित भएको थियो भन्ने कुरा समयक्रमले स्वत: पुष्टि गरिदियो । उनले बालेन शाहसँग दिल खोलेर सहकार्य गरे । राजनीतिको ‘र’ नजानेकाहरुलाई पनि महत्वपूर्ण पद बाँडे ।
बालेनलाई प्रधानमन्त्री नै घोषित गरे । अनि फागुन २१ गतेको चुनावी मैदानमा उत्रिए । नतिजा पनि उनीहरुकै पक्षमा आयो अर्थात् रवि र बालेनले सफलताको एउटा मुख्य खुट्किलो पार गरे ।
चुनावी नतिजाको सफलता राजनीतिक सफलताको सम्पूर्ण मानक भने होइन । रवि पत्रकारिताबाट राजनीतिमा आएका हुन् । उनले छोटो अवधिमै आफूलाई केवल अर्को राजनीतिक नेता होइन, परिवर्तनको आकांक्षा बोकेको अभियानकर्मीका रूपमा स्थापित गर्दै लगेका छन् ।
सुरूवाती दिनमा उनको शैली जनतासँग प्रत्यक्ष संवाद गर्ने, विकृति र विसंगतिमा मुछिएकाहरुमाथि आक्रामक प्रश्न गर्ने र पुरानो राजनीतिक संस्कारमाथि आलोचना गर्ने नेताका रुपमा रह्यो । यही कारण नागरिकले उनलाई ‘परम्परागत राजनीतिभन्दा फरक विकल्प’ का रूपमा हेरे । चुनावी नतिजापछिको उनको राजनीतिक परिपक्वता र सुझबुझलाई पनि उनीहरुले नियालिरहेका छन् ।
यही परिवर्तनको अर्को अनुहार बने- बालेन शाह । इन्जिनियरिङ पृष्ठभूमिबाट आएका बालेनले काठमाडौं महानगरको नेतृत्व सम्हाल्दै ‘काम गरेर देखाउने’ शैलीलाई आफ्नो पहिचान बनाए । उनको राजनीति भाषणभन्दा बढी परिणाम, संरचनाभन्दा बढी कार्यसम्पादन र परम्परागत शैलीभन्दा फरक सोचमा केन्द्रित रह्यो ।
एउटा राष्ट्रिय राजनीतिबाट उदाएको शक्ति र अर्को स्थानीय तहबाट राष्ट्रिय बहसको केन्द्र बनेको व्यक्ति । तर, दुवैको साझा बिन्दु एउटै- पुरानो राजनीतिक प्रवृत्तिप्रतिको असन्तुष्टि र नयाँ विकल्पको खोज ।
यही पृष्ठभूमिमा रवि लामिछाने र बालेन शाहबीचको सम्बन्ध अघि बढेको थियो । अहिले निकै झाँगिइसकेको छ । यो सम्बन्ध रवि र बालेनबीचको समीकरणमात्र नभएर नेपालको मूल राजनीतिको नयाँ अध्यायका रुपमा विकास भइरहेको छ ।
दुई नेता मिल्दै गर्दा राजनीतिक वृत्तमा एउटा चर्चा थियो- रविसँग संगठन छ, पार्टी संरचना छ, देशभरको राजनीतिक पहुँच छ र बालेनसँग जनअपेक्षा छ, युवाको आकर्षण छ र ‘काम गरेर देखाउने’ छवि छ । यी दुई शक्तिले सहकार्यको हात अघि बढाए भने नेपालको राजनीतिले नयाँ मोड लिन सक्छ । उतिखेरको चर्चा र अनुमान जस्तै गरी अघि बढिरहेको छ यतिखेर नेपालको राजनीति ।
तर, राजनीतिमा लोकप्रियता मात्र पर्याप्त हुँदैन । नेतृत्वको भूमिका, निर्णय प्रक्रिया, शक्ति सन्तुलन र दीर्घकालीन रणनीति नै यस्ता सम्बन्धको वास्तविक परीक्षा बन्ने गर्छ । नेपालको हकमा सामाजिक-आर्थिक रुपान्तरण पनि ।
रवि लामिछानेले भनेको फेरि दोहोर्याउँछु- पद होइन, देश बन्नुपर्यो ।
नेपाली जनता अझ भनौं युवामा आशा भरिदिने अभिव्यक्ति हो यो । यो केवल एउटा भाषणको लाइन होइन, नयाँ राजनीतिक यात्राको आधार पनि हो ।
रवि र बालेनको सहकार्यले नेपाली राजनीतिमा नयाँ आशा जगाइसकेको छ । विश्व राजनीतिक मञ्चमा नयाँ तरंग पैदा गरेको यो सहकार्य नेपालको हकमा पनि तीव्र आर्थिक विकासको आधारशीलाका रुपमा अघि बढ्नुपर्छ । भौतिक रुपमा होस् या भर्चुअल- विश्वको विकास देखेका युवा पटक-पटक निराश बन्ने दिन आउनु हुँदैन । राजनीतिक त्याग र चुनावी सफलता देशको विकास र युवाका लागि रोजगारीका अवसरसँग सीधा हिसाबले जोडिनुपर्छ ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal