
मुस्ताङ । सन् २०२६ को जुन महिनामा ८० हजार २५३ विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन् ।
राष्ट्रिय प्रकृति संरक्षण कोष अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका अनुसार सन् २०२६ को जुन महिनामा ७८ हजार ६७० जना सार्क राष्ट्रबाट र एक हजार ५८३ जना अन्य राष्ट्रका पर्यटक मुस्ताङ भ्रमणमा आएका हुन् ।
कूल भित्रिएका विदेशी पर्यटकमध्ये ९८.०२ प्रतिशत सार्क राष्ट्र तथा १.९७ प्रतिशत अन्य राष्ट्रका पर्यटक रहेका एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्तले जानकारी दिए । जुन महिनामा मुस्ताङ भित्रिएका विदेशी पर्यटकमध्ये ९५ प्रतिशतभन्दा बढी भारतीय पर्यटक रहेको उनले बताए ।
सन् २०२६ को मे महिनामा ६५ हजार ९९४ विदेशी पर्यटक मुस्ताङको भ्रमणमा आएका थिए । यसरी भित्रिएका पर्यटकमध्ये सार्क राष्ट्रका ६१ हजार ७९८ तथा अन्य राष्ट्रका चार हजार १९६ जना रहेका छन् । एक्याप जोमसोम कार्यालयका अनुसार सन् २०२५ को जुन महिनामा कुल २० हजार ८६८ विदेशी पर्यटक मुस्ताङ भित्रिएका थिए । सो महिनामा सार्क राष्ट्रबाट १९ हजार ६४९ र अन्य मुलुकबाट एक हजार २०९ विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेका थिए ।
एक्याप प्रमुख गुप्तका अनुसार सन् २०२५ को जुन महिनाको तुलनामा सन् २०२६ को जुन महिनामा मात्रै मुस्ताङ जिल्लामा ५९ हजार ३९५ विदेशी पर्यटकको यहाँ आगमनमा वृद्धि भएको थियो । सन् २०२६ को जनवरीदेखि जुनसम्मको ६ महिनाको अवधिमा दुई लाख २२ हजार ९९२ विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेका थिए । जसमध्ये सार्कतर्फ दुई लाख आठ हजार ११ जना र अन्य राष्ट्रतर्फ १४ हजार ९८१ जना रहेका एक्याप प्रमुख गुप्तले जानकारी दिए ।
यसअघि सन् २०२५ को जनवरीदेखि जुनसम्मको ६ महिनाको अवधिमा ९८ हजार ४८१ विदेशी पर्यटक मुस्ताङ भित्रिएका थिए । एक्याप कार्यालयको तथ्यांक अनुसार सन् २०२५ को तुलनामा सन् २०२६ जुनसम्मको ६ महिना अवधिमा एक लाख २४ हजार ५११ जनाले मुस्ताङको भ्रमण गरेका थिए ।
एक्याप जोमसोम कार्यालयको तथ्यांक अनुसार सन् २०२५ को जनवरीदेखि डिसेम्बरसम्म कूल एक लाख ६१ हजार १४२ विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेका थिए । सन् २०२६ मा भारतीय पर्यटकको मुस्ताङ आगमन अत्यधिक रुपमा वृद्धि भएको छ ।
मुस्ताङ भित्रिएका विदेशी पर्यटकमध्ये ९५ प्रतिशतभन्दा बढी भारतीय पर्यटक रहेका एक्यापको तथ्यांकमा उल्लेख छ । छिमेकी देश भारतबाट उल्लेख्य संख्यामा भारतीय पर्यटक मुक्तिनाथ दर्शन गर्न आउने गरेका एक्याप प्रमुख गुप्तले बताए ।
मुस्ताङ भित्रिएका भारतीय पर्यटकमध्ये ५० प्रतिशतले आफ्नै देशबाट निजी सवारीसाधन लिएर मुक्तिनाथ दर्शनका लागि आउने गरेका छन् । मुक्तिनाथ दर्शन गर्न मुस्ताङ आएका भारतीय पर्यटकको उपस्थितले मुस्ताङसहित म्याग्दी, बाग्लुङ र पोखराका होटल पर्यटकले भरिभराउ छन् । मुस्ताङ आएका अधिकांश भारतीय पर्यटक मुक्तिनाथ दर्शन गरी फर्किने गरेका पाइएको छ ।
यसैगरी अन्य राष्ट्रका पर्यटक भने राउण्ड अन्नपूर्ण चक्रिय पदमार्गअन्तर्गत मनाङ हुँदै मुस्ताङ भित्रिने गरेका छन भने कतिपय अन्य राष्ट्रका विदेशी पर्यटक पोखरा-जोमसोम हवाईमार्ग र बेनी-जोमसोम सडकमार्ग हुँदै मुस्ताङ भित्रिने गर्छन । एक्याप लोमान्थाङका अनुसार मुस्ताङ भित्रिएका पर्यटकमध्ये तीन प्रतिशतले मात्रै उपल्लो मुस्ताङको भ्रमण गर्ने गरेका छन् ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal