• Menu

बहराइनमा इरानी ड्रोन आक्रमणको दाबी, अमेरिकी सैन्य अखडानजिक विस्फोट

नेपाल प्रफिट

२०८३ कात्तिक २९, आइतबार १५:१४

बहराइनमा इरानी ड्रोन आक्रमणको दाबी, अमेरिकी सैन्य अखडानजिक विस्फोट

एजेन्सी । इरानले खाडी मुलुक बहराइनस्थित अमेरिकी सैन्य अखडालाई लक्षित गरी ड्रोन आक्रमण गरेको दाबी गरेपछि आइतबार बिहान विस्फोटका आवाज सुनिएका छन्। सम्भावित सुरक्षा खतरालाई ध्यानमा राख्दै बहराइनका अधिकारीहरूले सर्वसाधारणलाई सुरक्षित स्थानमा जान आग्रह गरेका छन्।

एएफपीका अनुसार आइतबार बिहान स्थानीय समय करिब ४ बजे विस्फोटको आवाज सुनिएको थियो। त्यसपछि बिहान ६ः३० बजे पुनः विस्फोट भएको स्थानीय बासिन्दाले बताएका छन्। घटनापछि सुरक्षा साइरन बजाइएको थियो भने अधिकारीहरूले सामाजिक सञ्जालमार्फत सर्वसाधारणलाई सतर्क रहन सूचना जारी गरेका थिए।

बहराइनको गृह मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत नागरिकलाई शान्त रहन, नजिकैको सुरक्षित स्थानमा जान तथा सुरक्षासम्बन्धी जानकारीका लागि आधिकारिक सञ्चारमाध्यमका सूचनाहरू पालना गर्न आग्रह गरेको छ।

इरानको सरकारी टेलिभिजनमार्फत सार्वजनिक विज्ञप्तिमा इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) ले बहराइनस्थित अल-रिफ्फा हेलिकप्टर बेसमा रहेको अमेरिकी हवाई रक्षा राडार प्रणालीलाई लक्षित गरी छवटा ड्रोन आक्रमण गरेको दाबी गरेको छ।

आईआरजीसीले होर्मुज जलडमरूमध्य बन्द रहेको उल्लेख गर्दै अमेरिकाबाट हुने कुनै पनि आक्रमणको अझ कडा जवाफ दिने चेतावनीसमेत दिएको छ।

इरान र अमेरिका–इजरायलबीच फेब्रुअरी २८ मा युद्ध सुरु भएयता खाडी क्षेत्रको सुरक्षा अवस्था तनावपूर्ण बनेको छ। युद्धका क्रममा इरानले होर्मुज जलडमरूमध्य हुँदै हुने जलयातायातमा प्रतिबन्ध लगाउनुका साथै विमानस्थल, बन्दरगाह, ऊर्जा पूर्वाधार र अमेरिकी सैन्य संरचनालाई लक्षित गरी आक्रमण गर्दै आएको छ।

बहराइनमा अमेरिकाको महत्वपूर्ण नौसैनिक अखडा रहेको छ। यसअघि शुक्रबार पनि इरानी गार्डले बहराइनस्थित अमेरिकी प्रारम्भिक चेतावनी राडार प्रणालीलाई लक्षित गरेको दाबी गरेको थियो। त्यसबेला अमेरिकी सेनाले आफ्नो क्षेत्रमा लक्षित दुईवटा इरानी ड्रोन खसालेको जनाएको थियो।

अमेरिकी सेनाको सेन्ट्रल कमान्ड (सेन्टकम) ले उक्त घटनामा कुनै मानवीय क्षति वा भौतिक नोक्सानी नभएको स्पष्ट पारेको थियो।

खाडी क्षेत्रमा बढ्दो सैन्य तनावले विश्वव्यापी ऊर्जा आपूर्ति तथा अन्तर्राष्ट्रिय तेल व्यापारमा समेत असर पार्न सक्ने चिन्ता बढाएको छ। विशेषगरी विश्वको महत्वपूर्ण तेल ढुवानी मार्गका रूपमा रहेको होर्मुज जलडमरूमध्यमा उत्पन्न अवरोधले अन्तर्राष्ट्रिय बजारमा थप अनिश्चितता सिर्जना गर्न सक्ने देखिएको छ।