नवलपुर । वैदेशिक रोजगारीका क्रममा करिब १५ वर्ष साउदी अरबमा बिताएर फर्किएका नवलपुरको मध्यविन्दु-३ ब्रह्मस्थानका नन्दे गुरुङ बंगुरपालनबाट राम्रो आम्दानी गर्न सफल भएका छन् ।
अरूको देशमा श्रम र पसिना बगाउनुभन्दा आफ्नै मुलुकमा केही गर्नुपर्छ भन्ने सोचका साथ नेपाल फर्किएर बंगुरपालनमा लागेको ५९ वर्षीय गुरुङले बताएका छन् ।
‘आठ वर्ष अगाडि फेरि नजाने गरी साउदीबाट घरमा आएँ,’ गुरुङले भने, ‘घर फर्किएपछि विभिन्न काम गर्दै अहिले बंगुरपालनमा जुटेको छु ।’
अन्य पेसा तथा व्यवसायभन्दा बंगुरपालन सहज र आम्दानी पनि राम्रो हुने भएपछि यसलाई निरन्तरता दिएको उनले बताए । नेपाल फर्किएपछि उत्तम पशुपन्छी तथा कृषि फार्म दर्ता गरेर सुरुमा कुखुरापालन थालेका गुरुङले त्यसबाट अपेक्षाअनुसार आम्दानी गर्न नसकेपछि बंगुरपालन सुरु गरेका हुन् ।
बंगुरपालनबाट सन्तुष्ट रहेका गुरुङले बङ्गुरसँगै करिब छ बिघा जमिनमा आलु तथा अन्य तरकारीखेतीसमेत गर्दै आएका छन् । सुरुमा एउटा माउ बंगुर पालेर अनुभव लिएका उनले थोरै मिहिनेतमा राम्रो आम्दानी हुन थालेपछि बंगुररको संख्या बढाएका हुन् ।
हाल उनको फार्ममा दुईवटा वयस्क भाले, १२ वटा माउ र १५ वटा पाठापाठी छन् । बंगुरको भाले र पाठापाठी बिक्रीबाट राम्रो आम्दानी हुने गरेको उनले बताए ।
अन्य किसानले बंगुररको गर्भाधानका लागि भाले लिन आफ्नो फार्ममा आउने गरेको गुरुङले सुनाए । एउटा भाले लगेबापत किसानले साँझ ६ हजार बुझाउने गरेको उनको भनाइ छ । भालेलाई गाडीमा लैजाँदा लाग्ने भाडा पनि किसानले नै व्यहोर्ने गरेका छन् ।
बंगुररको मासु बिक्रीबाट भन्दा पाठापाठी बिक्रीबाट राम्रो आम्दानी हुने गरेको गुरुङले बताए । पहिले बंगुर काटेर मासु बिक्री गर्ने गरे पनि पछिल्लो समय पाठापाठी नै बिक्री गर्दै आएको उनले सुनाए । उनका अनुसार एक महिनाका पाठापाठी प्रतिगोटा ६ हजारमा बिक्री हुने गरेका छन् ।
गुरुङका अनुसार बंगुरले साढे तीन महिनामा बच्चा पाउने गर्छन् । एकपटक गर्भाधान गर्दा कम्तीमा नौवटा पाठापाठी जन्माउने गरेको उनले बताए । आफूले पालेको बंगुरले एकैपटक २० वटासम्म पाठापाठी जन्माएको उनको अनुभव छ ।
धेरै पाठापाठी जन्मिँदा माउको दूध पर्याप्त नपुग्ने र बच्चा हुर्काउन कठिन हुने गरेको गुरुङले बताए । थोरै पाठापाठी हुँदा राम्रोसँग हुर्कने र बिक्री गर्न पनि सहज हुने उनको भनाइ छ ।
थोरै मिहिनेतबाट राम्रो आम्दानी हुन थालेपछि बंगुरपालनप्रति आफू सन्तुष्ट रहेको गुरुङले बताए । अन्य पशुपन्छी पाल्नुभन्दा बंगुरपालन सहज भएको उनको अनुभव छ ।
‘बिहान बेलुका बंगुरलाई दाना हालिदिने हो, दिनमा एकपटक खोरमा पानी हालेर सफा गरिदिन्छु, अनि दिनभरि बारीमा अन्य काम गर्दै आएको छु,’ उनले भने ।
गाईभैँसीपालनको तुलनामा बंगुरपालन सजिलो, कम खर्चिलो र बढी आम्दानी दिने व्यवसाय भएको गुरुङको अनुभव छ । रासस