काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको तेस्रो संस्करणमा प्लेअफ पुग्ने चार टोलीको टुंगो लागिसकेको छ । लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, काठमाण्डु गोर्खाज र चितवन राइनोजले प्लेअफमा स्थान सुरक्षित गर्दा प्रतियोगितामा केही नेपाली खेलाडीले आफ्नो प्रदर्शनबाट विशेष छाप छोडेका छन् ।
एनपिएलका हरेक संस्करण नयाँ प्रतिभाका लागि आफ्नो क्षमता प्रदर्शन गर्ने महत्त्वपूर्ण मञ्च बन्दै आएका छन् । यसपटक पनि युवा खेलाडीले प्राप्त अवसरलाई सदुपयोग गर्दै राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्रिकेटमा आफ्नो सम्भावना देखाएका छन् । बलिङतर्फ राहुल यादव र रिजन ढकाल तथा ब्याटिङतर्फ लोकेश बम र राशिद खानले निरन्तर प्रभावशाली प्रदर्शन गरिरहेका छन् ।
ट्यालेन्ट हन्टबाट आएका राहुल ‘गोल्डेन क्याप’को दौडमा
एनपिएलको तेस्रो संस्करणमा सर्वाधिक चर्चा बटुल्ने खेलाडीमध्ये एक हुन् युवा तीव्रगतिका बलर राहुल यादव । जनकपुर बोल्ट्सबाट खेलिरहेका राहुल ट्यालेन्ट हन्टमार्फत छनोट भएर टोलीमा आबद्ध भएका हुन् । प्रतियोगितामा पहिलो सहभागितामै उनले आफ्नो बलिङ क्षमताबाट सबैको ध्यान खिच्न सफल भएका छन् ।
राहुलले सात खेलमा १२ विकेट लिँदै सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा शीर्षस्थानमा रहेका छन् । काठमाण्डु गोर्खाजविरुद्धको खेलमा उनले चार ओभरमा ३१ रन खर्चेर चार विकेट लिएका थिए ।
त्यसपछि लगातार दुई खेलमा विकेट लिन नसके पनि पाँचौँ खेलमा दुई विकेट लिँदै उनले पुनरागमन गरे । त्यसपछिका दुई खेलमा क्रमशः एक र तीन विकेट लिएका छन् । राहुलको यो प्रदर्शनले उनलाई प्रतियोगिताको ‘गोल्डेन क्याप’को प्रमुख दाबेदारका रूपमा उभ्याएको छ ।
रिजनको बलिङमा निरन्तरता
बलिङतर्फ चितवन राइनोजका रिजन ढकालले पनि उत्कृष्ट लय कायम राखेका छन् । उनले हालसम्म पाँच खेलमा ११ विकेट लिएका छन् । प्रतियोगितामा खेलेका प्रत्येक खेलमा विकेट लिन सफल रिजनको प्रदर्शन चितवनका लागि महत्त्वपूर्ण बनेको छ ।
चितवनले हालसम्म खेलेका ६ खेलमध्ये तीन खेलमा जित हासिल गरेको छ । अन्तरराष्ट्रिय क्रिकेटको अनुभवसमेत बटुलिसक्नुभएका रिजनले नेपालका लागि ८ टी-२० अन्तरराष्ट्रिय र चार एकदिवसीय अन्तरराष्ट्रिय खेल खेलिसकेका छन् । एनपिएलमा उनले देखाएको निरन्तरताले टोलीको बलिङ आक्रमणलाई थप मजबुत बनाएको छ ।
ब्याटिङमा लोकेशको दबदबा
ब्याटिङतर्फ विराटनगर किङ्सका लोकेश बमले आफ्नो प्रभाव जमाएका छन् । उनले सात खेलमा २४२ रन बनाउँदै प्रतियोगितामा सर्वाधिक रन बनाउने ब्याटरको सूचीमा शीर्षस्थान कायम गरेका छन् ।
लोकेशले प्रतियोगितामा दुई अर्धशतकीय पारी खेलिसकेका छन् । नेपालका लागि २९ टी-२० अन्तरराष्ट्रिय खेल खेलिसकेका उनले भने अहिलेसम्म एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा डेब्यु गर्ने अवसर पाएका छैनन् ।
एनपिएलमा देखिएको उनको ब्याटिङ लयले राष्ट्रिय टोलीमा समेत आफ्नो स्थान थप मजबुत बनाउने सम्भावना देखाएको छ ।
राशिदको ब्याटिङमा पुनरागमन
काठमाण्डु गोर्खाजका राशिद खानले पनि यस संस्करणमा ब्याटिङबाट उल्लेखनीय प्रदर्शन गरेका छन् । उनले ६ खेलमा एक अर्धशतकसहित १५५ रन बनाएका छन् ।
नेपालका लागि हालसम्म दुई टी-२० अन्तरराष्ट्रिय खेल खेलेका राशिदले एनपिएलमा ब्याटिङमार्फत आफ्नो क्षमता प्रदर्शन गरिरहेका छन् । प्रतियोगितामा उनको प्रदर्शन टोलीका लागि महत्त्वपूर्ण बनेको छ ।
समग्रमा एनपिएलको तेस्रो संस्करण नेपाली युवा खेलाडीका लागि प्रतिभा देखाउने महत्त्वपूर्ण अवसर बनेको छ । राहुल र रिजनले बलिङमा तथा लोकेश र राशिदले ब्याटिङमा देखाएको लयले नेपाली क्रिकेटमा नयाँ सम्भावनाको संकेत गरेको छ ।