काठमाडौं । सेयर बजारमा पोर्टफोलियो म्यानेजमेन्ट भनेको लगानीकर्ताले आफ्नो पुँजीलाई विभिन्न कम्पनी, क्षेत्र वा वित्तीय साधनमा योजनाबद्ध रूपमा लगानी गरी जोखिम र प्रतिफलबीच सन्तुलन कायम गर्ने प्रक्रिया हो ।
लगानीका अवसर पहिचान गर्ने, उपयुक्त सम्पत्ति छनोट गर्ने, लगानीको नियमित समीक्षा गर्ने तथा बजारको अवस्था र लगानीकर्ताको उद्देश्यअनुसार पोर्टफोलियोमा आवश्यक परिवर्तन गर्ने कार्य यसअन्तर्गत पर्छन् । पोर्टफोलियो म्यानेजमेन्टको मूल उद्देश्य जोखिम नियन्त्रण गर्नु हो ।
आज म पोर्टफोलियो म्यानेजमेन्ट गर्ने केही मुख्य तरिकाहरुबारे बताउँदैछु ।
सबैभन्दा पहिलो तरिका-
१. सबै पैसा एउटै कम्पनीमा राख्नु हुँदैन
एउटै कम्पनीको सेयर धेरै किन्दा जोखिम बढ्छ । उदाहरणका लागि १० लाख रुपैयाँ लगानी छ भने सबै १० लाख एउटै कम्पनीमा राख्नु जोखिमपूर्ण हुन्छ । लगानीलाई विभिन्न क्षेत्रका विभिन्न कम्पनीमा बाँड्नुपर्छ ।
२. लगानीलाई क्षेत्रगत रुपमा विविधीकरण गर्नुपर्छ ।
नेपालको बजारमा उदाहरणका लागि वाणिज्य बैंक, जलविद्युत, बिमा, उत्पादनमूलक, होटल एन्ड पर्यटन, लघुवित्त, लगानी, वित्तलगायतका समूहमा लगानी गर्नुपर्छ । तर, धेरै कम्पनी किन्नुलाई नै विविधीकरण भनिँदैन । धेरै क्षेत्रमा धेरै कम्पनी किन्दा पनि पोर्टफोलियो सन्तुलित हुँदैन । जस्तो कि सबै समूहबाट ३-३ वटा कम्पनीको सेयर किनियो भने १३ समूहबाट ३९ कम्पनी हुन्छन् । तिनको रेखदेख गर्न सहज नहुन सक्छ ।
३. जोखिमअनुसार पैसा बाँड्नुपर्छ
उदाहरणका लागि मध्यम जोखिम लिन चाहने लगानीकर्ताले आफ्नो पोर्टफोलियो यसरी बनाउन सक्छ-
तुलनात्मक रूपमा स्थिर र बलिया कम्पनीमा ४० प्रतिशत लगानी
वृद्धि सम्भावना भएका कम्पनीमा ३० प्रतिशत लगानी र
नगद अर्थात् अप्परचुनिटी फन्डका लागि २० प्रतिशत लगानी गर्न सकिन्छ । त्यसबाहेक लगानी गर्न चाहेको पैसा मध्येबाट १० प्रतिशत रकम जोखिम व्यवस्थापनका लागि राख्नु बुद्धिमानी हुन्छ ।
यो सामान्य उदाहरण मात्र हो । वास्तविक प्रतिशत तपाईंको जोखिम क्षमता, लगानी अवधि, तपाईंको उमेर र लक्ष्यअनुसार फरक हुन्छ ।
४. आधारभूत विश्लेषण गरेर मात्र कम्पनी छान्नुपर्छ ।
कम्पनी किन्दा बजारमा बढिरहेको छ भनेर मात्र किन्नु हुँदैन । प्रतिसेयर आम्दानी, मूल्य आम्दानी अनुपात अर्थात् पीई रेसियो, बुक भ्यालु, लगानीमा प्रतिफल अर्थात् आरओई, खुद नाफा वृद्धि, लाभांश इतिहास, बैंक वित्तीय संस्था भए खराब कर्जाको स्थिति, कम्पनीको ऋण व्यवस्थापन, वित्तीय सुशासन र भविष्यको व्यावसायिक योजनालाई विशेष ध्यान दिनुपर्छ ।
५. मूल्य मात्र होइन, भ्यालुएसन पनि हेर्नुपर्छ ।
राम्रो कम्पनी पनि अत्यधिक महँगो मूल्यमा किनेमा राम्रो लगानी नहुन सक्छ । त्यसैले सेयर किन्नुअघि कम्पनी राम्रो छ कि छैन ? र अहिलेको मूल्य उचित छ कि छैन ? दुवै प्रश्नमा स्पष्ट हुनुपर्छ ।
६. सेयर लगानीकर्ताले बजारमा प्रवेश गर्ने र निस्किने दुवै योजना बनाउनुपर्छ ।
सेयर किन्न जति सजिलो छ, बेच्न त्यो भन्दा धेरै गाह्रो छ । त्यसकारण लगानीकर्ताले सेयर किन्न र बेच्ने योजना पहिले नै बनाउनुपर्छ ।
कुन मूल्य आसपास किन्ने ? कति रकमको किन्ने ? लक्षित मूल्य कति हो ? प्रतिफल कति भए बेच्ने ? बजार गलत दिशामा गएमा कहाँ नोक्सान स्वीकार गर्ने ? भन्ने जस्ता कुराको निर्क्योल पहिले नै लगाउनुपर्छ ।
७. पोर्टफोलियो रिभ्यु गर्ने
हरेक दिन पोर्टफोलियो परिवर्तन गर्न आवश्यक छैन र त्यो सम्भव पनि छैन । बरु त्रैमासिक प्रतिवेदन, वार्षिक प्रतिवेदन, कम्पनीको बिजनेस पर्फर्मेन्स र आफ्नो खास लगानीको अवस्था हेरेर समीक्षा गर्नु राम्रो हुन्छ ।
एउटा महत्वपूर्ण कुरा रिब्यालेन्सिङ हो ।
मानौँ, तपाईंले सुरुमा बैंक समूहका कम्पनीको सेयर ४० प्रतिशत, जलविद्युत समूहका कम्पनीको २५ प्रतिशत, बिमा समूहका कम्पनीको सेयर २० प्रतिशत र अन्य विभिन्न समूहका कम्पनीको सेयर १५ प्रतिशत किन्नुभएको छ । केही महिनापछि जलविद्युत समूह धेरै बढेर तपाईंको पोर्टफोलियो ४५ प्रतिशत भयो भने तपाईंको जोखिम संरचना बदलिन्छ ।
यस्तो अवस्थामा केही प्रफिट बुक गरेर अरू समूहका कम्पनीमा सार्ने वा कम भएको समूहमा नयाँ पैसा लगाउने कामलाई रिब्यालेन्सिङ भनिन्छ ।
दीर्घकालीन पोर्टफोलियो र ट्रेडिङ पोर्टफोलियो छुट्याउनुहोस् ।
सामान्यत: एउटा असल लगानीकर्ताले लगानी अर्थात् इन्भेस्टमेन्ट र कारोबार अर्थात् ट्रेडिङ दुवै गर्नुपर्छ । आफूले सेयर किन्न चाहेको पैसाबाट कति पैसाको सेयर दीर्घकालका लागि किन्ने र कति पैसाको सेयर अल्पकालका लागि किन्ने भन्ने स्पष्ट हुनुपर्छ । सामान्यत: ७० प्रतिशत पैसा लगानी गर्ने, २० प्रतिशत ट्रेडिङ गर्ने र १० प्रतिशत सम्भावित जोखिम व्यवस्थानका लागि राख्नु बुद्धिमानी हुन्छ । इन्भेस्टमेन्ट र ट्रेडिङ हिस्सा आफ्नो जोखिम क्षमताअनुसार निर्धारण गर्न सकिन्छ ।
अन्त्यमा, सबैभन्दा ध्यान दिनुपर्ने कुरा के हो भने-
लगानीकर्ता सधैँ अनुशासनमा बस्नुपर्छ ।
सेयर लगानीकर्ताले लोभ गर्नु हुँदैन ।