काठमाडौं । अर्जुनको मृत्युको खबर पाएपछि उनका परिवारका सदस्यहरू काठमाडौं आएका छन् । परिवारका अनुसार अर्जुनका दुई श्रीमती र एक छोरा छन् ।
सोमबार त्रिपुरेश्वरमा बसभित्र आत्मदाह गरेका युवक अर्जुन दोङ रहेको खुलेको हो । घटनापछि प्रहरीले उनलाई दावा लामा भएको बताए पनि परिवार काठमाडौं आएपछि मृतकको वास्तविक पहिचान अर्जुन दोङका रूपमा खुलेको हो ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३ निवासी करिब २२ वर्षीय अर्जुनले त्रिपुरेश्वरमा ऋद्धिसिद्धिको बसभित्रै आत्मदाहको प्रयास गरेका थिए । गम्भीर अवस्थामा उद्धार गरिएका उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको थियो । तर, सोमबार राति उपचारकै क्रममा उनको मृत्यु भयो ।
अर्जुनका बुबा छैनन् । सात दाजुभाइमध्ये उनी कान्छा थिए । उनका एक दाइ विदेशमा रहेको परिवारले जनाएको छ ।
अर्जुनको शव अहिले अस्पतालमै रहेको छ । उनका परिवारका सदस्य, आफन्त तथा यातायात व्यवसायीहरू अस्पतालमा भेला भएका छन् ।
घटनापछि कीर्तिपुरस्थित बर्न अस्पतालबाहिर अर्जुनका परिवार तथा आफन्तहरूले प्रदर्शनसमेत गरेका छन् । प्रदर्शनकारीहरूले घटनाको सत्यतथ्य छानबिन गरी न्याय दिन माग गरेका छन् ।
यसअघि प्रहरीले मृतक युवकको पहिचान दावा लामा भएको बताएपछि अन्योल उत्पन्न भएको थियो । तर, दावा लामाले आफू सकुशल रहेको बताएपछि मृतकको पहिचानबारे पुनः अनुसन्धान गरिएको थियो । त्यसक्रममा मृतक अर्जुन दोङ रहेको खुलेको हो ।
घटनाको कारण तथा आत्मदाह गर्नुपर्ने अवस्थाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।