• Menu

‘जेनजी आन्दोलन सरकार फेर्न होइन, सुशासन र विधिको शासनका लागि थियो’

नेपाल प्रफिट

२०८३ भदौ २४, बुधबार १४:५२

‘जेनजी आन्दोलन सरकार फेर्न होइन, सुशासन र विधिको शासनका लागि थियो’

काठमाडौं । प्रतिनिधिसभाको बुधबारको आकस्मिक समयमा भाग लिने सांसदहरुले गत वर्षको जेनजी आन्दोलन सरकार परिवर्तनका लागि नभई सुशासन र विधिको शासन स्थापितका लागि भएकाले आन्दोलनको मर्म र भावनाअनुरुप सरकार र राजनीति दलले काम गर्नुपर्ने बताएका छन् ।

सभाको आकस्मिक समयमा भाग लिँदै राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का सांसद पुरूषोत्तम शुप्रभात यादवले जेनजी आन्दोलनको माग र भावनाबमोजिम सरकारले काम गर्नुपर्ने बताए ।

उनले जेनजी आन्दोलनकारीलाई नै पक्राउ र थुनामा राख्ने कार्य भएको जनाउँदै त्यस्ता कार्य सच्याउन माग गरे । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले जेनजी आन्दोलन सरकार परिवर्तनका लागि नभई शैली परिवर्तनसहित सुशासन र विधि कायमका लागि भएकाले सबैले त्यसअनुसार काम गर्नुपर्ने बताए ।

उनले बजारमा उपभोग्य वस्तुको अभावकाबीच विपत्तिको सामनाका लागि सबै एक भएर लाग्नुपर्ने अवस्था रहेको जनाउँदै नुवाकोट, रसुवा र धादिङको सडक सञ्जालको पुनर्स्थापनामा विशेष ध्यान सरकारको ध्यानाकर्षण गराए ।

सोही पार्टीका सांसद बासना थापाले रसुवा बाढीको दुई साता बितिसक्दा पनि अझै सयौँ बेपत्ता भएका नागरिकको प्रभावकारी खोजी हुन नसक्दा सम्बन्धित परिवारले पीडाको सामना गरिरहनुपरेको भनी सरकारको ध्यानाकर्षण गराइन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद क्रान्तिशीखा धितालले बाढी पीडित क्षेत्रमा महामारीको जोखिम बढेको तथा होल्डिङ सेन्टरमा महिला र बालबालिकाको सुरक्षा थप चुनौतीपूर्ण रहेको बताइन् ।

नेकपा (एमाले) का सांसद गणेशसिंह ठगुन्नाले हालैको अविरल वर्षाले दार्चुलालगायत क्षेत्रमा बस्ती प्रभावित भएको जानकारी गराउँदै विपद्पूर्व सूचना प्रणाली र महाकालीमा तटबन्ध निर्माणमा ध्यान दिन आग्रह गरे ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद पार्वती विकले जेनजी आन्दोलनले बोकेको परिवर्तनको संकल्पलाई सरकारले केकति पूरा गर्न सकेको वा नसकेकोबारे समीक्षा गर्न आवश्यक रहेको बताइन् ।

कांग्रेसका सांसद सीता थपलियाले बाढी प्रभावित क्षेत्रमा बेलीब्रिज निर्माण गरी सडक सम्पर्क पुनर्स्थाना गर्न माग गरिन् ।

कांग्रेसकै सांसद खड्गबहादुर शाहीले मुगुको छायाँनाथ नगरपालिकाको घट्टेखोलाको बाढीका कारण स्थानीयवासीलाई परेको असुविधाबारे सदनलाई जानकारी गराए ।

एमालेका सांसद डा. अर्जुनकुमार कार्कीले सम्भावित जोखिमयुक्त हिमतालको अध्ययन गरी त्यसबारे प्रभावित क्षेत्रका नागरिकलाई सचेतना दिलाउन आवश्यक रहेको बताइन्

रास्वपाका सांसद यज्ञमणि न्यौपानेले शक्ति राष्ट्रले अन्तरराष्ट्रिय कानुनको पालना नगरेका कारण नेपालले जलवायु परिवर्तनको मार खेपिरहेको जनाउँदै जेनजी आन्दोलनमा सहभागी व्यक्ति आज कारागार र अदालत धाउनुपर्ने अवस्था अन्त्य गरिनु पर्ने धारणा व्यक्त गरे । सभाको बैठक जारी छ ।

सम्बन्धित समाचार