
काठमाडौं । भोटेकोशीमा आएको भीषण बाढीका कारण ११ वटा जलविद्युत् आयोजनाबाट उत्पादन हुने करिब ४०५ मेगावाट र २५ मेगावाट सोलारसहित कुल ४३० मेगावाट विद्युत् उत्पादन बन्द भएको छ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार बाढीका कारण उत्पादन, प्रसारण तथा वितरणसँग सम्बन्धित संरचनामा क्षति पुगेपछि विद्युत् आपूर्तिमा समेत असर परेको हो । प्राधिकरणले आपूर्ति नियमित बनाउन सक्दो प्रयास भइरहेको जनाएको छ ।
प्राधिकरणले जारी गरेको सूचनामा रसुवा जिल्लामा आएको आकस्मिक बाढीका कारण जनधनमा अपूरणीय क्षति पुग्नुका साथै घर, सडक, पुल, विद्युत् तथा अन्य भौतिक संरचनामा समेत उल्लेख्य क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको उल्लेख छ ।
बाढी प्रभावित क्षेत्रमा नेपाल तथा प्रभावित सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी तथा सर्वसाधारणको खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि सम्बन्धित सबै पक्षलाई तत्काल प्रभावकारी रूपमा परिचालित भई सहयोग गर्न प्राधिकरणले आग्रह गरेको छ ।
बाढीको जोखिम अझै कायम रहन सक्ने भन्दै नदी तथा खोलाको आसपास, तटीय क्षेत्र तथा जोखिमयुक्त स्थानमा रहेका राष्ट्रसेवक, प्राधिकरणका कर्मचारी र सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन तथा जोखिम देखिए सुरक्षित स्थानतर्फ स्थानान्तरण हुनसमेत प्राधिकरणले अनुरोध गरेको छ । साथै, आधिकारिक सूचनाबाहेकका अपुष्ट समाचार तथा अफवाहमा विश्वास नगर्न पनि आग्रह गरिएको छ ।
बाढीका कारण प्राधिकरणको उत्पादन, प्रसारण तथा वितरण संरचनामा समेत क्षति पुगेको छ । प्राधिकरणका अनुसार रसुवागढी, चिलिमे, त्रिशूली–३ ए, त्रिशूली–३ बी हबको २२० केभी सबस्टेसन, त्रिशूली तथा देवीघाट जलविद्युत् केन्द्र एवं विभिन्न वितरण संरचनाहरू प्रभावित भएका छन् ।
प्राधिकरणले विद्युत् आपूर्ति नियमित गर्न हरसम्भव प्रयास भइरहेको जनाउँदै आपूर्ति पूर्णरूपमा नियमित नहुन्जेलसम्म धैर्य गरिदिन र समय–समयमा आधिकारिक सूचना प्रवाह गरिने भएकाले त्यसैअनुसार जानकारी लिन सम्बन्धित सबैमा आग्रह गरेको छ ।
भोटेकोशी तथा आसपासका नदीमा आएको बाढीले एकैपटक ठूलो विद्युत् उत्पादन प्रणाली प्रभावित पारेपछि मुलुकको विद्युत् आपूर्ति व्यवस्थापनमा समेत चुनौती थपिएको छ ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal