
काठमाडौं । विपद्पछि उद्धार, राहत तथा समन्वयलाई प्रभावकारी बनाउन सरकारले प्रभावित जिल्लामा सुरक्षा निकाय तथा उद्धार टोली परिचालन गरेको छ ।
नेपाली सेनाका दुईवटा उद्धार हेलिकप्टर तथा स्वास्थ्यकर्मीसहितको एउटा एम–१७ हेलिकप्टर टोली नुवाकोट र रसुवातर्फ प्रस्थान गरेको छ । उद्धार तथा स्वास्थ्य उपचारका लागि आवश्यक जनशक्ति र उपकरणसहित हेलिकप्टर टोली प्रभावित क्षेत्रमा खटाइएको हो ।
त्यस्तै, धादिङ, नुवाकोट, रसुवा र चितवनका सबै सुरक्षा निकायलाई उद्धार तथा राहत कार्यका लागि फिल्डमा परिचालन गरिएको छ । प्रभावित क्षेत्रमा उद्धार, राहत वितरण तथा आवश्यक समन्वयलाई प्राथमिकतामा राखिएको जनाइएको छ ।
विपद्का कारण सञ्चार सेवामा समस्या नहोस् र उद्धार तथा समन्वय कार्य सहज होस् भन्ने उद्देश्यले नेपाल टेलिकमले धादिङ, नुवाकोट, रसुवा र चितवनमा फोन तथा डाटा सेवा निःशुल्क उपलब्ध गराएको छ ।
सरकारले प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउँदै आवश्यकताअनुसार जनशक्ति, उपकरण र अन्य स्रोत परिचालन गर्ने जनाएको छ । तिब्बतबाट आएको बाढीका कारण नुवाकोटको त्रिशूली बजार आसपासका करिब ६० घर बगाएको छ भने देवीघाट क्षेत्र प्रभावित भएको छ । बाढीका कारण ठुलो जनधनको क्षति भएको अनुमान गरिएको छ । क्षतिको विवरण भने आइसकेको छैन ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal