• Menu

राहत, उद्धार र खोजीमा निजी हेलिकप्टरलाई अनुमति नचाहिने, सबै संयन्त्र परिचालन गर्ने निर्णय

नेपाल प्रफिट

२०८३ भदौ १०, बुधबार १२:३७

राहत, उद्धार र खोजीमा निजी हेलिकप्टरलाई अनुमति नचाहिने, सबै संयन्त्र परिचालन गर्ने निर्णय

काठमाडौं । विपद्को समयमा राहत, उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारले निजी हेलिकप्टरलाई परिचालनका लागि छुट्टै अनुमति लिन नपर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्रीको अध्यक्षतामा बुधबार बिहान बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले उद्धार, राहत तथा समन्वयका लागि देशका सबै संयन्त्र परिचालन गर्ने निर्णय गरेको हो ।

बैठकले राहत, उद्धार र खोजी कार्यमा परिचालन हुने निजी हेलिकप्टरलाई आवश्यकताअनुसार तत्काल परिचालन गर्न अनुमति नचाहिने व्यवस्था गरेको हो । यसबाट विपद् प्रभावित क्षेत्रमा उद्धार तथा राहत सामग्री पुर्‍याउने कार्यलाई थप सहज बनाउने सरकारको अपेक्षा छ ।

त्यसैगरी, राहत, उद्धार तथा खोजी कार्यमा परिचालन हुने हेलिकप्टरका लागि हवाई इन्धनको सहज आपूर्ति सुनिश्चित गर्न नेपाल आयल निगमले काठमाडौंस्थित इन्धन ट्यांकरसहितको टोली नुवाकोटको त्रिशूलीमा तत्काल परिचालन गरेको छ । त्रिशूलीमा हेलिकप्टरलाई आवश्यक हवाई इन्धन उपलब्ध गराउने व्यवस्था मिलाइएको हो ।

यसैबीच, विपद्को पछिल्लो अवस्था तथा राहत, उद्धार र व्यवस्थापनका विषयमा निर्णय गर्न अहिले आकस्मिक मन्त्रिपरिषद् बैठक जारी छ । राष्ट्रिय परिषद्को बैठकले विपद् प्रभावित क्षेत्रमा उद्धार, राहत, खोजी तथा समन्वयका लागि संघ, प्रदेश र स्थानीय तहसहित राज्यका सबै संयन्त्रलाई सक्रिय रूपमा परिचालन गर्ने निर्णय गरेको छ ।