
काठमाडौं । नेपालको सबैभन्दा ठूलो अटोमोबाइल तथा मोबिलिटी प्रदर्शनी ‘नाडा अटो शो २०२६’ नजिकिँदै गर्दा काठमाडौंको भृकुटीमण्डपमा स्टल निर्माणको काम तीव्र गतिमा भइरहेको छ।
आगामी भदौ ९ देखि १४ गतेसम्म आयोजना हुने प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको छ। प्रदर्शनीस्थलमा विभिन्न अटोमोबाइल ब्रान्ड, सवारीसाधनका पार्टपुर्जा तथा सामग्री, टायर, ब्याट्री, विद्युतीय चार्जिङ पूर्वाधार, ग्यारेज उपकरण, बैंक तथा बीमा कम्पनीका स्टल निर्माण भइरहेका छन्।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अनुसार यस वर्षको स्वर्ण जयन्ती विशेष संस्करणमा दुई सयभन्दा बढी स्टल रहनेछन्। करिब तीन लाख वर्गफुट क्षेत्रफलमा सञ्चालन हुने प्रदर्शनीमा यात्रुवाहक सवारीसाधनका २३, हल्का व्यावसायिक सवारीसाधनका १७ र दुईपाङ्ग्रे सवारीसाधनका १३ गरी ५३ वटा सवारी ब्रान्ड सहभागी हुनेछन्।
प्रदर्शनीमा अटोमोबाइल तथा मोबिलिटी क्षेत्रका नयाँ सवारीसाधन, विद्युतीय सवारी, आधुनिक प्रविधि तथा विभिन्न उत्पादन र सेवाको प्रदर्शन गरिनेछ। त्यस्तै, करिब ७० वटा स्टलमा सवारीसाधनका पार्टपुर्जा, टायर, ब्याट्री, स्नेहक पदार्थ, सहायक सामग्री तथा ग्यारेज उपकरण राखिनेछन्। बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीको समेत सहभागिता रहने आयोजकले जनाएको छ।
प्रदर्शनी सुरु हुन केही दिन मात्र बाँकी रहेकाले भृकुटीमण्डपमा अहिले स्टल निर्माणको चटारो देखिन्छ। विभिन्न कम्पनीका स्टललाई आकर्षक तथा प्रविधिमैत्री बनाउने कामसँगै विद्युत, प्रकाश, डिजिटल प्रदर्शन, ब्रान्डिङ तथा अन्य प्राविधिक व्यवस्थापनका काम पनि समानान्तर रूपमा अघि बढिरहेका छन्।
यस वर्षको प्रदर्शनी नाडाको ५०औँ स्थापना वर्षको स्वर्ण जयन्ती विशेष संस्करणका रूपमा आयोजना हुँदैछ। त्यसैले विगतका संस्करणभन्दा प्रदर्शनीलाई थप व्यवस्थित, प्रविधिमैत्री र आकर्षक बनाउने तयारी गरिएको आयोजकले जनाएको छ।
नाडा अटो शोमा नयाँ सवारीसाधन तथा प्रविधिको प्रदर्शनसँगै उपभोक्ता, व्यवसायी, वितरक, वित्तीय संस्था तथा अटोमोबाइल क्षेत्रका अन्य सरोकारवालाबीच प्रत्यक्ष सम्पर्क र व्यावसायिक अन्तरक्रियाको अवसरसमेत उपलब्ध हुनेछ।
प्रदर्शनीले नेपालको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रको पछिल्लो अवस्था, बजारमा भित्रिएका नयाँ प्रविधि र आगामी दिनको सम्भावनाबारे एउटै थलोबाट जानकारी लिन अवसर प्रदान गर्ने आयोजकको भनाइ छ।
यस वर्षको प्रदर्शनीमा नेपालमै उत्पादन तथा जडान भएका सवारीसाधन, विद्युतीय सवारी, ब्याट्री, हेल्मेट तथा अन्य अटोमोबाइल सामग्रीको प्रवर्धनमा समेत जोड दिइनेछ।
नाडा अटो शो भदौ ९ देखि १४ गतेसम्म अर्थात् अगस्ट २५ देखि ३० सम्म भृकुटीमण्डप प्रदर्शनीस्थलमा सञ्चालन हुनेछ। आयोजकले प्रदर्शनीलाई नेपालको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रकै प्रमुख व्यावसायिक मञ्चका रूपमा प्रस्तुत गरेको छ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal