• Menu

नाडा अटो शो २०२६ का लागि नेपाल बैंकको सवारी कर्जा योजना सार्वजनिक, सेवा शुल्क ०.५ प्रतिशत मात्र

नेपाल प्रफिट

२०८३ भदौ ७, आइतबार १२:४१

नाडा अटो शो २०२६ का लागि नेपाल बैंकको सवारी कर्जा योजना सार्वजनिक, सेवा शुल्क ०.५ प्रतिशत मात्र

काठमाडौं । नेपाल बैंक लिमिटेडले आगामी भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नाडा अटो शो २०२६ लाई लक्षित गर्दै ग्राहकका लागि विशेष तथा आकर्षक सवारी कर्जा योजना सार्वजनिक गरेको छ।

नेपालको पहिलो बैंकका रूपमा परिचित नेपाल बैंकले विद्युतीय तथा अन्य नयाँ निजी र व्यावसायिक सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई सहज, सरल तथा प्रतिस्पर्धी वित्तीय सुविधा उपलब्ध गराउने उद्देश्यले विशेष सवारी कर्जा योजना ल्याएको जनाएको छ।

योजनाअन्तर्गत नाडा अटो शोमा नेपाल बैंकबाट कर्जा लिएर जुनसुकै ब्रान्डको सवारीसाधन खरिद गर्दा बैंकको आधार ब्याजदरमा ०.५१ प्रतिशत थप गरी कायम हुने ब्याजदरमा कर्जा सुविधा प्राप्त गर्न सकिनेछ।

त्यस्तै, उक्त कर्जा लिँदा कर्जा प्रशासनिक शुल्कमा ०.५ प्रतिशत मात्र सेवा शुल्क लाग्ने बैंकले जनाएको छ। सवारी कर्जा उपयोग गर्ने ग्राहकले कुनै अतिरिक्त शुल्क नलाग्ने गरी तीन लाख रुपैयाँसम्मको आजीवन अवधिको कर्जा कार्ड सुविधा समेत प्राप्त गर्न सक्नेछन्।

नेपाल बैंकले नाडा अटो शोमा सहभागी सम्पूर्ण ग्राहक तथा सर्वसाधारणलाई आफ्नो नजिकको शाखामा सम्पर्क गरी बैंकका नवीनतम वित्तीय सेवा तथा सवारी कर्जा सुविधाबारे जानकारी लिन आग्रह गरेको छ।

भदौ ९ देखि १४ गतेसम्म सञ्चालन हुने नाडा अटो शोमा विभिन्न सवारी ब्रान्ड, विद्युतीय सवारीसाधन, सवारीसाधनका पार्टपुर्जा तथा अन्य सम्बन्धित सामग्रीको प्रदर्शन हुने तयारी गरिएको छ। नेपाल बैंकले सोही अवसरलाई लक्षित गर्दै सवारी खरिद गर्न इच्छुक ग्राहकका लागि विशेष कर्जा सुविधा ल्याएको हो।