• Menu

श्रममन्त्रीको प्रश्न- सबै काम बाँकी देख्छु, आखिर विगतमा गरिन्थ्यो चाहिँ के ?

नेपाल प्रफिट

२०८१ वैशाख २५, मंगलबार २०:४६

श्रममन्त्रीको प्रश्न- सबै काम बाँकी देख्छु, आखिर विगतमा गरिन्थ्यो चाहिँ के ?

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगार व्यवसायीलाई मर्यादित भएर व्यवसाय गर्न आग्रह गरेका छन् ।

मन्त्रालयमा मंगलबार आयोजित ‘वैदेशिक रोजगारीसँग सम्बन्धित विभिन्न विषयमा छलफल तथा अन्तर्क्रिया कार्यक्रम’मा मन्त्री अर्यालले वैदेशिक रोजगार क्षेत्रका समस्या समाधान गर्न र यो व्यवसायलाई मर्यादित बनाउन सम्बन्धित व्यवसायीकै अहं भूमिका रहने बताएका हुन् ।

वैदेशिक रोजगार व्यवसायी, वैदेशिक रोजगार अभिमुखीकरण व्यवसायी र वैदेशिक रोजगार मेडिकल व्यवसायीलाई एकै थलोमा राखेर मन्त्रालयले चलाएको अन्तर्क्रिया तथा छलफल कार्यक्रममा उनले वैदेशिक रोजगार अभिमुखीकरण तालिम (पीडीओटी)का विषयमा सम्बन्धित व्यवसायीबाटै स्पष्ट धारणा आउनुपर्ने बताए ।

‘पाठ्यक्रम पनि समय सुहाउँदो चाहिन्छ र शुल्क पनि उपयुक्त हुनुपर्छ, यसमा हामी तपाईंहरुबाटै स्पष्ट धारणा चाहन्छौं,’ मन्त्री अर्यालले भने, ‘तर व्यवसायी मर्यादित हुनुपर्छ, जे कामका लागि संस्था स्थापना गरिएको हो, त्यो काम गरिएको हुनुपर्छ ।’

अहिलेको बहस भनेको अभिमुखीकरण शुल्क सात सय रुपैयाँ उपयुक्त छ कि छैन भन्ने नभएको उनले स्पष्ट गरे । ‘आजको बहस भनेको युवाका लागि कस्तो पाठ्यक्रम आवश्यक छ, त्यो पाठ्यक्रमलाई कुन प्रविधि र कुन समयमा सिकाउन सकिन्छ भन्ने हो,’ उनले भने ।

सबै काम सकिएर भिसा आइसकेपछि श्रम स्वीकृतिको लागि पीडीओटी तालिम लिइनु नै गलत भएको उनले बताए । ‘युवालाई हामी पहिल्यै किन जान चाहेको मुलुकको बारेमा स्पष्ट जानकारी दिन सक्दैनौं ? गर्नुपर्ने त त्यो होला नि !’ मन्त्री अर्यालले प्रश्न गरे ।

व्यवसायीलाई उनले मन्त्रीलाई प्रलोभनमा पार्न जरुरी नभएको तथा सही काम र नीति निर्माणमा सुझाव दिनका लागि ढोका सधैं खुला रहेको स्पष्ट पारे ।

अहिले वैदेशिक रोजगारीका क्षेत्रमा देखिएको समस्या र समाधान गर्नुपर्ने कामको फेहरिस्त देख्दा विगतमा यो मन्त्रालय नेतृत्व गरिरहेकाहरुले चाहिँ के काम गरेछन् त भन्ने लागेको अनुभव उनले सुनाए ।

‘म मन्त्री भएको दिनदेखि यसरी खटिरहेको छु,’ मन्त्री अर्यालले भने, ‘सबैतिर समस्या नै मात्र देखिरहेको छु, विगतमा मन्त्रीज्यूहरुले के काम गर्नुभएछ त !’

उनले वैदेशिक रोजगार व्यवसायी, वैदेशिक रोजगार अभिमुखीकरण व्यवसायी र वैदेशिक रोजगार मेडिकल व्यवसायीलाई समस्या स्पष्ट रुपमा राख्न र त्यसको समाधानका उपाय पनि सुझाउन कार्यक्रमको सुरुमै आग्रह गरेका थिए ।

उनले विदेशका जेलमा रहेका नेपालीलाई कसरी नेपाल ल्याउने भन्ने विषयमा मन्त्रालयले गम्भीर गृहकार्य गरिरहेको जानकारी गराए । ‘त्यसका लागि कानुन समिति बनाएर काम गर्ने योजनामा हामी छौं,’ उनले भने ।

कार्यक्रममा वैदेशिक रोजगार अभिमुखीकरण व्यवसायी महासंघका अध्यक्ष राजाराम गौतमले अभिमुखीकरण सेवा शुल्क एकदमै कम भएको र बढाउनै पर्ने बताए । उनले सेवा शुल्क वृद्धिका लागि हरेक नयाँ आउने वैदेशिक रोजगार विभागका महानिर्देशकदेखि मन्त्री, प्रधानमन्त्रीलाई भेट्दा पनि सुनुवाइ नभएको गुनासो गरे ।

त्यस्तै नेपाल मेडिकल व्यवसायी संघका वरिष्ठ उपाधयक्ष किशोर श्रेष्ठले मेडिकल व्यवसाय र अभिमुखीकरण तालिममै सबैभन्दा बढी बेथिति रहेको औंल्याए । उनले हुम्लामा बसेको युवा कामदारको काठमाडौंमा मेडिकल रिपोर्ट तयार हुने गरेको तथ्य सुनाए ।

अहिले मेडिकल व्यवसायीले एक जना कामदारबाट ६५ सय शुल्क लिने गरेको तर त्यसबाट १५ सय म्यानपावर एजेन्टलाई दिनुपर्ने स्थिति रहेको उनले बताए । ‘त्यो सबै पैसा आफूले राख्न पाउने हो भने इनफ हुन्छ,’ उनले भने ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्रप्रसाद भण्डारीले सेवा शुल्क र मागपत्र प्रमाणीकरणलाई व्यवस्थित गर्ने हो भने वैदेशिक रोजगारीका आधाभन्दा धेरै समस्या समाधान हुने तर्क गरे ।

अहिले फ्रि भिसा फ्रि टिकटको व्यवस्था लागू नभइरहेको र लागू हुन पनि नसक्ने उनले बताए । ‘यसरी व्यवसायी चल्न सक्दैनन्,’ उनले भने, ‘श्रमिकको एक महिनाबराबरको तलब सेवा शुल्कबापत लिन पाउने व्यवस्था गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्