काठमाडौं । गौशालामा सडक अतिक्रमण गरी बनाइएका घर काठमाडौं महानगरपालिकाले भत्काएको छ । सडक किनारा अतिक्रमण गरी बनाइएका घर तथा महानगरपालिकाले आइतबार बिहान डोजर प्रयोग गरी भत्काएको हो ।
महानगरपालिकाले अतिक्रमित संरचना भत्काउन चारवटा डोजर प्रयोग गरेको थियो । महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले गौशालादेखि एयरपोर्टतर्फ जाने खण्डमा सडक अतिक्रमण गरी बनाइएका घर भत्काउन थालिएको बताए ।
महानगरपालिकाले गौशाला चोकमा सडक अतिक्रमण गरेर बनाइएका घर भत्काउन ३५ दिन अगाडि सूचना निकालेको थियो भने १५ दिन अघिदेखि माइकिङ गरेर आफैं घर भत्काउन आग्रह गरेको थियो ।
पटक–पटक जानकारी गराउँदा पनि घरधनीले आफैं नभत्काएपछि महानगरले डोजर चलाएको जनाएको छ । पहिलो चरणमा आइतबार ६ वटा घर भत्काइएको छ । अन्य ३२ वटा अस्थायी टहरा, सटर पनि भत्काउने महानगरको तयारी छ ।