• Menu

काठमाडौँ आज पनि सबैभन्दा प्रदूषित सहर, वन डढेलो नरोकिए आपत्कालीन अवस्था आउने चेतावनी

नेपाल प्रफिट

२०८१ वैशाख २०, बिहीबार १३:२९

काठमाडौँ आज पनि सबैभन्दा प्रदूषित सहर, वन डढेलो नरोकिए आपत्कालीन अवस्था आउने चेतावनी

काठमाडौँ । काठमाडौँ आज (बिहीबार) फेरि वायु प्रदूषणको हिसाबले विश्वकै सबैभन्दा प्रदूषित सहरका रुपमा सूचीकृत भएको छ । ‘एयर क्वालिटी इन्डेक्स’ अनुसार काठमाडौंको समग्र वायु गुणस्तर सूचकांक (एक्यूआई) १६२ पुगेको छ ।

एयर क्वालिटी इन्डेक्स’ अनुसार दोस्रो प्रदूषित सहरमा थाइल्यान्डको चियाङ माई सहर परेको छ । यसैगरी इन्डोनेसियाको मेदान तेस्रो प्रदूषित सहरमा परेको छ ।

सुक्खा यामसँगै बढ्दै गइरहेको तापक्रम वृद्धिसँगै मुलुकको विभिन्न स्थानमा लागेको वन डढेलोका कारण वायु प्रदूषण पनि बढिरहेको हो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बिहीबार ३९ जिल्लाका १६५ स्थानमा वन डढेलो लागिरहेको छ ।

डढेलोविद् सुन्दर शर्माले मुलुकको विभिन्न स्थानमा लागिरहेको वन डढेलोसँगै प्रदूषण पनि बढिरहेको बताए । ‘वनमा लागिरहेको डढेलोका कारण अहिले वायु प्रदूषण बढेर काठमाडौँ लगायतका मुख्य सहरको हावा अस्वस्थ बनेको छ,’ उनले भने, ‘केही समय पानी नपरे वन डढेलो पनि नियन्त्रणमा ल्याउन गाह्रो हुने र प्रदूषण अझै बढ्ने खतरा छ ।’

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार केही स्थानमा छिटपुट वर्षा भए पनि तत्कालका लागि राम्रो वर्षाको सम्भावना छैन ।

विपत् व्यवस्थापनविद् डा. धर्मराज उप्रेतीका अनुसार ० देखि एक्यूआई ५० राम्रो अर्थात् ग्रिन सिग्नलले चिनिन्छ । ‘५१ देखि एक सयसम्मको एक्यूआईलाई होसियार रहनुपर्ने अथवा पहेंलो संकेतले चिनिन्छ । यसैगरी १०१ देखि १५० सम्मलाई अस्वस्थ जसमा श्वासप्रश्वास र मुटुरोगीलाई असर गर्छ भन्ने बुझिन्छ,’ उनले भने, ‘१५१ देखि दुई सयसम्मको एक्यूआईलाई पनि अस्वस्थ र सबैलाई असर गर्छ भन्ने बुझिन्छ । २०१ देखि ३०० सयलाई धेरै अस्वस्थ्यका रुपमा लिइन्छ र ३०१ देखि चार सयलाई खतरनाक र ४०१ देखि ५०० लाई धेरै खतरा मानिएको छ ।’

बढ्दो वन डढेलोका कारण वायु प्रदूषण पनि बढिरहेकाले डढेलो जतिसक्दो छिटो नियन्त्रण गर्न नसके प्रदूषण बढेर आपत्कालीन अवस्थामा पुग्ने वातावरण अभियन्ता राजन थापा बताउँछन् ।

काठमाडौँ उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना २०७६ ले पनि नेपाल सरकारले निर्धारण गरेको एक्यूआईको मान ३०० भन्दा बढी भएको अवस्थालाई विपद्का रुपमा लिने बताएको छ ।

विपद् रोक्न फोहोर बाल्ने कार्य रोक्ने, सडक सफा गर्न ब्रमुर तथा भ्याकुमको प्रयोग व्यापक गर्ने, बालबालिका, ज्येष्ठ नागरिक, बिरामीलाई विशेष सावधानी अपनाउन सार्वजनिक सूचना जारी गर्ने कार्ययोजनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्