• Menu

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनारा डिसेम्बर १६ मा स्वदेश फर्कने

नेपाल प्रफिट

२०८३ मंसिर ८, मंगलबार १३:१२

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनारा डिसेम्बर १६ मा स्वदेश फर्कने

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले भारतमा निर्वासनमा रहेको अवस्थाबाट आगामी डिसेम्बर १६ मा स्वदेश फर्कने घोषणा गरेकी छन् । यद्यपि, मानवताविरुद्धको अपराधमा अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाइएकी उनी स्वदेश फर्किए पक्राउ पर्ने सम्भावना छ ।

विद्यार्थी नेतृत्वको जनविद्रोहले १५ वर्ष लामो शासन अन्त्य गरेपछि हसिना सन् २०२४ अगस्ट ५ मा भारत गएकी थिइन् । प्रदर्शनका क्रममा सयौँ मानिसको मृत्यु भएको घटनामा संलग्न रहेको आरोपमा उनीमाथि मुद्दा चलाइएको थियो । अदालतको फैसलालाई अस्वीकार गर्दै आएकी हसिनाले स्वदेश फर्किएपछि कानुनी लडाइँ लड्ने बताउँदै आएकी छन् ।

बंगलादेशका प्रधानमन्त्री तारिक रहमानका प्रेस सचिव अबु अब्दुल्लाह एम सालेहले हसिनालाई दोषी ठहर गरिएको र उनको सुपुर्दगीका लागि सरकारले भारतसँग आग्रह गरिसकेको बताएका छन् । सरकारले आफ्नो अडान परिवर्तन नगर्ने उनको भनाइ छ ।

हसिनाले मंगलबार डिसेम्बर १६ मा स्वदेश फर्कने योजना सार्वजनिक गर्दै प्रधानमन्त्री रहमानलाई राष्ट्रिय ध्वजावाहक विमानमार्फत दिल्लीबाट ढाका फर्कने व्यवस्था मिलाउन आग्रह गरेकी छन् । उनका प्रवक्ता सैयद मोजाम्मेल अलीले सन् २०२४ अगस्ट ५ मा बंगलादेशी विमानबाटै भारत गएकाले स्वदेश फर्कने यात्राको व्यवस्था पनि सरकारले गर्नुपर्ने बताएका छन् ।

डिसेम्बर १६ बंगलादेशको विजय दिवस हो । सन् १९७१ मा पाकिस्तानसँगको युद्धपछि बंगलादेश स्वतन्त्र भएको स्मरणमा यो दिवस मनाइन्छ । हसिनाका सहयोगी अबु ओबैदा अरिनका अनुसार आफ्ना पिता तथा बंगलादेशका संस्थापक नेता शेख मुजीबुर रहमानको नेतृत्वमा हासिल भएको ऐतिहासिक विजयको सम्मान गर्दै हसिनाले यही दिन स्वदेश फर्कन चाहेको बताएकी छन् । उनको पुनरागमनपछि देश शान्ति, स्थिरता र समृद्धितर्फ अघि बढ्ने विश्वाससमेत उनले व्यक्त गरेका छन् ।

यस महिनाको सुरुमा एसोसिएटेड प्रेससँगको अन्तर्वार्तामा हसिनाले कुनै पनि मूल्यमा डिसेम्बरमै स्वदेश फर्कने बताएकी थिइन् । मृत्युसमेतले आफूलाई घर फर्कनबाट रोक्न नसक्ने उनको भनाइ थियो ।

हसिनाले मृत्युदण्डको फैसलाविरुद्ध पुनरावेदन गर्ने समयसीमा गुमाइसकेको र सजाय रोक्ने कानुनी आधार नरहेको एक अभियोजकले यसअघि बताएका थिए । बंगलादेशमा राष्ट्रपतिबाट क्षमादान पाउने व्यवस्था भए पनि हसिनाले त्यसका लागि आग्रह गरेकी छैनन् । उनले अदालतको फैसलालाई अस्वीकार गर्दै आएकी छन् ।

हसिनाको सत्ता पतन भएको तीन दिनपछि नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसले अन्तरिम सरकारको नेतृत्व सम्हालेका थिए । उनको नेतृत्वमा रहेको सरकारले हसिनाको अवामी लिग पार्टीमाथि प्रतिबन्ध लगाएको थियो भने फेब्रुअरीमा भएको निर्वाचनमा सहभागी हुन दिएको थिएन । त्यसपछि तारिक रहमान नेतृत्वको निर्वाचित सरकारले सत्ता सम्हालेको हो ।

यसैबीच, सन् १९७१ को स्वतन्त्रता युद्धमा पाकिस्तानी सैन्य नेतृत्वको पक्षमा रहेको जमात-ए-इस्लामी पार्टी फेब्रुअरीको निर्वाचनसँगै पुनः राजनीतिमा फर्किएको थियो । अहिले उक्त पार्टी बंगलादेशको प्रमुख प्रतिपक्षी दल बनेको छ । हसिनाको शासनकालमा यस पार्टीका कैयौँ शीर्ष नेताहरूलाई युद्ध अपराधको आरोपमा मृत्युदण्ड दिइएको थियो ।

हसिनाका पिता शेख मुजीबुर रहमानले पाकिस्तानविरुद्धको स्वतन्त्रता आन्दोलनको नेतृत्व गरेका थिए । सन् १९७५ मा सैन्य ‘कू’ का क्रममा उनी र परिवारका अधिकांश सदस्यको हत्या भएको थियो । त्यसबेला देशबाहिर रहेका कारण हसिना र उनकी कान्छी बहिनी भने बाँच्न सफल भएका थिए ।