काठमाडौं । सेयर बजार बिहीबार सामान्य अंकले बढेको छ। बुधबार ११ अंकले घटेको बजार परिसूचक नेप्से बिहीबार ३.६२ अंकले बढेर दुई हजार ६२८ अंकमा पुगेको छ ।
आज कारोबारमा आएका कम्पनीमध्ये १३८ वटाको सेयर मूल्य बढेको छ भने १३२ वटाको घटेको छ। त्यस्तै, १० कम्पनीको मूल्य स्थिर रहेको छ।
बजार बढे पनि कारोबार रकम भने घटेको छ। बुधबार ४ अर्ब १५ करोड रुपैयाँको सेयर कारोबार भएकोमा बिहीबार ३ अर्ब ८७ करोड रुपैयाँमा सीमित भएको छ।
समूहगत परिसूचकतर्फ होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १.२९ प्रतिशतले बढेको छ। बैंकिङ समूह ०.५४ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.६७ प्रतिशत, वित्त ०.३५ प्रतिशत र व्यापार समूह ०.२३ प्रतिशतले बढेका छन्।
यता विकास बैंक ०.०४ प्रतिशत, जलविद्युत् ०.०५ प्रतिशत, लगानी ०.३८ प्रतिशत, जीवन बिमा ०.२२ प्रतिशत, लघुवित्त ०.१५ प्रतिशत, निर्जीवन बिमा ०.३० प्रतिशत र अन्य समूह ०.५३ प्रतिशतले घटेका छन्।
आज बोटलर्स नेपाल (बालाजु) को सेयर मूल्य सबैभन्दा धेरै ६ प्रतिशतले बढेको छ। बोटलर्स नेपाल (तराई) को ५.६३ प्रतिशत, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको ४.८१ प्रतिशत, मन्दाकिनी हाइड्रोपावरको ४.४६ प्रतिशत र बेस्ट फाइनान्सको ३.४४ प्रतिशतले मूल्य बढेको छ।
त्यसैगरी, एभरेस्ट कलरको सेयर मूल्य सबैभन्दा धेरै ५.४५ प्रतिशतले घटेको छ। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ५.४३ प्रतिशत, मुक्तिनाथ कृषि कम्पनीको ४.३२ प्रतिशत, नेपाल वेयरहाउजिङ कम्पनीको ३.६३ प्रतिशत र बेनी हाइड्रोपावरको ३.५५ प्रतिशतले मूल्य घटेको छ।